चौथो दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी

आइतबार, १९ असोज २०८२

काठमाडौँ: आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ ।

विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

शनिवार वर्षाले गर्दा मान्यजनकहाँ जान नसकेकाहरूले आज बिहानदेखि काठमाडौँ उपत्यकामा पानी पर्न छोडेपछि सहज रूपमा हिँड्न पाएका थिए ।

यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैँ पर्व मनाउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने क्रम विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ ।

नजिकको परिवारका सदस्य पनि काम विशेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरू हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजयादशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार