काठमाडौँ : असोज १७ गते बेलुकीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा फसेका नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ ।
मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारस्थित लोहन्द्रा खोलामा आएको बाढीका कारण सुकुम्वासी टोल डुबानमा परेर फसेका छ जना बालबालिकालाई शिवदल गणको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस्तै, झापाको झापा गाउँपालिका–१ मिलनबस्तीमा डुबानमा परेका १० जना पुरुष र पाँच जना महिला गरी १५ जनालाई अरिदमन गणबाट खटिएको टोलीले मोटरबोटमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ ।
सोही इलाकामा माई खोलाले हुलाकी राजमार्ग कटान गर्दा फसेका करिब ८० जनाको पनि उद्धार गरिएको निर्देशनालयले जनाएको छ ।
उक्त उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर आवश्यक उपकरण र दक्ष जनशक्तिसहित खटिएको थियो ।
हालसम्म १६ जनाको हवाई उद्धार र २० जनाको मोटरबोटमार्फत उद्धार भइसकेको छ भने बाँकी व्यक्तिहरूको उद्धार कार्य निरन्तर जारी रहेको सेनाले जनाएको छ ।
त्यसैगरी, झापा गाउँपालिका–२ सडक बस्ती र वडा नं ६ स्वर्णमति युवा टोलमा बाढीका कारण डुबानमा परेका १३ महिला र ११ पुरुष गरी २४ जनालाई पनि अरिदमन गणबाट खटिएको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।
इलामको इलाम नगरपालिका–६ घोस क्षेत्रमा पहिरोमा पुरिएका व्यक्तिहरूको खोज तथा उद्धारका क्रममा रणशार्दुल गणबाट खटिएको फौजले पाँच जनाको शव फेला पारेको छ ।
साथै, जीवितै उद्धार गरिएका एक जनालाई थप उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया