काठमाडौँ : जल तथा मौसम विज्ञान विभागको एक साताअगाडिको पूर्वानुमान अनुसार सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले विपद् व्यवस्थापनका लागि देशभर उच्च सतर्कता अपनाएको थियो ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ अन्तर्गत एपीएफका सम्पूर्ण युनिटलाई ‘स्ट्याण्डबाइ’ अवस्थामा राखी हरेक युनिटबाट ३५ जनाको उद्धार फौज परिचालन गरिएको हो ।
उनका अनुसार देशभर ७ हजार ६ सय १५ जनशक्ति तयारी अवस्थामा छन्, जसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति समावेश छन् । साथै, ३३ वटा मोटरबोट, ९६ वटा र्याफ्टिङ बोट गरी १ सय २९ वटा बोटहरू विपद् प्रभावित क्षेत्रमा तैनाथ गरिएको छ ।
“नेपाल सरकारले अघि नै सम्भावित जोखिमको सूचना दिएकोले सशस्त्र प्रहरी बल पूर्ण तयारीमा थियो,” सुवेदीले भने, “हामीले तत्काल उद्धारका लागि जनशक्ति र उपकरण दुवै तयारी अवस्थामा राखेका थियौँ।”
उनीका अनुसार सशस्त्र प्रहरीले एक लाख ६८ हजार ६ सय ९५ जना विपद् सूचकहरू र ९ सय ९० जना तालिम प्राप्त समुदाय विपद् स्वयंसेवकहरूसँग समन्वय गर्दै काम गरिरहेको छ ।
हाल एपीएफका टोलीहरू काठमाडौँ, रौतहट, झापा र इलाममा उद्धार कार्यमा सक्रिय छन्।
काठमाडौँको बल्खुमा बागमती आसपासका बस्तीमा बसोबास गर्ने १०० जना सुकुम्वासीलाई जनविकास मावि बल्खुमा सुरक्षित स्थानमा सारिएको छ।
रौतहटको गजुरा–५ हरिपुरमा डुबानमा परेका १९ घरका ७५ जनालाई स्थानीय विद्यालयमा स्थानान्तरण गरिएको छ।
झापाको झापा गाउँपालिकामा ५१ घरमा पानी पसेपछि कुमारी माविमा आश्रय दिइएको छ।
झापा गौरीगञ्जको झोराबस्तीमा १०५ घरमा पानी पसेकाले स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ।
इलाम नगरपालिका, माङ्सिबुङ गाउँपालिका र सूर्योदय नगरपालिकामा १ सय ६० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।
सुवेदीका अनुसार १८ गतेदेखि हालसम्म देशभर ९ हजार ३ सय ४६ जना सशस्त्र प्रहरी उद्धार कार्यमा परिचालन भइसकेका छन्।
प्रतिक्रिया