इलाका प्रहरी कार्यालय इटहरी रङ्गशाला पछाडि सार्ने तयारी

आइतबार, १९ असोज २०८२

इटहरी : जेन–जी पुस्ताको आन्दोलनका क्रममा इटहरीस्थित इलाका प्रहरी कार्यालय तोडफोड र आगजनी भएपछि विस्थापित भएको कार्यालयलाई अब इटहरी रङ्गशाला पछाडि स्थानान्तरण गर्ने तयारी गरिएको छ।

सुरक्षा चुनौतीको रूपमा रहेको उक्त कार्यालय अहिले अस्थायी रूपमा प्रहरी चौकी तरहराको नयाँ भवनमा सञ्चालनमा रहेको छ। इटहरी उपमहानगरपालिकाको पहलमा इलाका प्रहरी कार्यालयलाई रङ्गशाला पछाडि अस्थायी रूपमा स्थानान्तरण गर्न लागिएको हो।

यसका लागि इटहरी वडा नं. ९ का वडाध्यक्ष जितेन्द्र थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ। समितिले आवश्यक पूर्वाधार निर्माणदेखि अन्य तयारीका कामहरू अघि बढाउनेछ।

इटहरीका मेयर हेमकर्ण पौडेलले सामाजिक सञ्जालमार्फत नागरिकलाई सहज रूपमा प्रहरी सेवा उपलब्ध गराउन स्थानान्तरणको तयारी भइरहेको जानकारी दिएका छन्।

भदौ २३ गते जेन–जी आन्दोलनको पहिलो दिन इटहरीमा दुई जनाको मृत्यु भएपछि आक्रोशित समूहले विभिन्न सरकारी कार्यालय, सार्वजनिक पदधारी र प्रहरी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरेका थिए।

उक्त घटनामा इलाका प्रहरी कार्यालय इटहरी, हलगढा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पकलीमा आगजनी गरिएको थियो। तीमध्ये हलगढा र पकली प्रहरी कार्यालय दुवै पुनःस्थापित भइसकेका छन्। खनार प्रहरी चौकी र जनता बस्तीस्थित चौकीमा आंशिक क्षति पुगेको थियो।

तरहरास्थित प्रहरी चौकीमा आगजनी गर्न खोज्ने समूहलाई स्थानीयले प्रतिकार गरेपछि उक्त चौकी जोगिएको थियो। अहिले त्यही चौकीको नयाँ भवनसँगै वन कार्यालयको हलभित्र इलाका प्रहरी कार्यालयका प्रहरी अस्थायी रूपमा बसेका छन्। सो क्रममा इलाका प्रहरी कार्यालयका दुई वटा सवारीसाधन पनि जलेका थिए।

WhatsApp Image 2025-10-05 at 20.52.24

इलाका प्रहरी कार्यालय पुनःस्थापित नहुँदा बजार क्षेत्रका व्यापारी र स्थानीयवासी असुरक्षित महसुस गरिरहेका छन्।

इटहरीमा डिएसपीको दरबन्दीमा इलाका प्रहरी कार्यालय रहेको छ। त्यस्तै, जनसङ्ख्या वृद्धिसँगै पकली इलाका प्रहरी कार्यालयले पनि वडा नं. १५, १६, १७ र १८ का शान्ति–सुरक्षा जिम्मेवारी सम्हाल्ने गरेको छ।

इटहरीमा अहिले तरहरामा दुई वटा, खनार र बालग्राममा स्थायी प्रहरी चौकीहरू छन्। त्यस्तै, तालतलैया, हवाईचोक, पूर्वी गैमार, हलगढा, जनताबस्ती, पुष्पलाल चौक, बुढी खोला र शान्तिझोडामा अस्थायी चौकीहरू रहेका छन्।

यहाँ सिआरभी प्रहरीको बिट पनि सञ्चालनमा छ। हाल इटहरी मातहत १६१ जना प्रहरी दरबन्दीमा कार्यरत छन्। इलाका प्रहरी कार्यालयमा भने छुट्टै इन्स्पेक्टरको नेतृत्वमा प्रहरी तैनाथ छन्।

जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीमा परेको प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय पनि पुनःस्थापित भइसकेको छ।

प्रहरी प्रधान कार्यालयले करिब दशकअघि नै इलाका प्रहरी कार्यालय इटहरी निर्माणका लागि दुई करोड रुपैयाँभन्दा बढी बजेट छुट्याएको थियो। तर, उपयुक्त जग्गा नपाएपछि बजेट फिर्ता भएको थियो।

सो बेला कम्तीमा १० कट्ठा जग्गा आवश्यक पर्ने बताइएको थियो। कार्यालय इटहरी चौबाटोबाट सहज पुग्न सक्ने, तीन किलोमिटर परिधिभित्र पर्ने ठाउँमा निर्माण गर्ने योजना रहेको बताइएको थियो।

WhatsApp Image 2025-10-05 at 20.52.24 (1)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार