विराटनगर । मोरङको डागिहाट नजिक भएको सवारी दुर्घटनामा एक प्रहरी सहायक हवलदारको मृत्यु भएको छ।
आइतबार साँझ करिब ६ बजेर ३० मिनेट जाँदा मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च १९७८ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४७ प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक झापा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार सुरेन्द्र सुब्बा लिम्बु गम्भीर घाइते भएका थिए।
उनीलाई तत्काल उद्धार गरी बिराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई उपचारका क्रममा मृत घोषित गरेका थिए। लिम्बुको स्थायी ठेगाना मोरङको केरावारी गाउँपालिका–२ रहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने एम्बुलेन्स चालक झापाको दमक नगरपालिका–९ बस्ने ४१ वर्षीय विष्णु प्रसाईलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनामा संलग्न एम्बुलेन्स र मोटरसाइकल दुवै इलाका प्रहरी कार्यालय डागिहाटको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया