धरान । हिजो आइतबारसम्म खतराको तह नाघ्दै बगिरहेको सप्तकोशी नदीको बहाव आज सोमबारदेखि घट्न थालेको छ । लगातार परेको वर्षा रोकिएपछि नदीको पानीको मात्रा कम हुँदै जाँदा बाढीको चिन्ता पनि क्रमशः घट्दै गएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार आज बिहान ८ बजे गरिएको मापनअनुसार कोशी व्यारेजमा पानीको बहाव ३ लाख ७७ हजार ६७० क्युसेकमा झरेको छ । आइतबार बेलुकी सो बहाव ५ लाख ३३ हजार क्युसेक नाघेपछि व्यारेजका सबै ५६ ढोका खोलिएका थिए भने अहिले ५१ ढोका खुल्ला रहेका छन् ।
गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सप्तकोशीमा पानीको बहाव तीव्र रूपमा बढेको थियो । निरन्तरको वर्षाले सुनसरीका भोक्राहा नरसिंह, बराहक्षेत्र, इनरुवा, रामधुनी र इटहरी क्षेत्रका करिब एक हजारभन्दा बढी घरहरू डुबानमा परेका थिए । केही स्थानीयलाई सुरक्षित स्थानमा सारिए पनि अहिलेसम्म मानवीय क्षति भने नदेखिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।
उनका अनुसार बाढीको सबैभन्दा ठूलो असर सुकुम्बासी बस्तीमा परेको छ, जहाँ अधिकांश घरहरू अस्थायी संरचनामा रहेका छन् । बाढीको पानी ओह्रिन थालेसँगै प्रभावित बस्तीहरूमा राहत र सरसफाइको काम सुरु गरिएको छ ।
गत वर्ष असोजमा सप्तकोशीमा ६ लाख ४३ हजार क्युसेकभन्दा बढी बहाव पुगेको र त्यसबेला ठुलो क्षति भएको थियो । तर यस वर्ष तुलनात्मक रूपमा बहाव केही कम रहेकाले ठूलो क्षति हुनबाट क्षेत्र जोगिएको छ ।
स्थानीय प्रशासनले बाढीग्रस्त क्षेत्रका जोखिमयुक्त बस्तीमा सतर्कता कायम राख्न आग्रह गर्दै आवश्य परे थप उद्धारका लागि प्रहरी, सशस्त्र र सेनाको टोली तयारी अवस्थामा रहेको जनाएको छ ।
प्रतिक्रिया