काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै पाँच हजार ८१४ जना कारागारमा फर्केका छैनन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, जेनजी प्रदर्शनका क्रममा देशका २८ वटा कारागार र ९ वटा बालसुधार गृहबाट १४ हजार ५५३ कैदीबन्दी भागेका थिए ।
विभागका अनुसार, भदौ २४ गते १५ हजार ५२५ कैदीबन्दी भागेका थिएनन् । कारागारबाट भागेको २७ दिन बित्दा सोमबार (असोज २०) दिउँसो १ बजेसम्म आठ हजार ७३४ कैदीबन्दी फर्केको निर्देशक न्यौपानेले जानकारी दिए ।
भदौ २४ गते देशका विभिन्न कारागारमा ३० हजार ६४६ जना कैदीबन्दी थिए । उक्त दिन कुल कैदीबन्दीमध्ये ४७.४८ प्रतिशत कारागारबाट भागेका थिए ।
कैदीबन्दी भाग्ने क्रममा १० जनाको मृत्यु भएको थियो । हाल देशका विभिन्न कारागारमा २४ हजार १०२ कैदीबन्दी रहेका छन् । विभागले भागेका कैदीबन्दीलाई कारागारमा फर्कन पटक पटक अनुरोध गरेको छ, तर अझै पाँच हजार ८१४ जना फर्केका छैनन् ।
प्रतिक्रिया