इलामलाई 'संकटग्रस्त क्षेत्र' घोषणा गर्न पूर्व सांसद नेम्वाङको माग

मंगलबार, २१ असोज २०८२
तस्बिर : फाइल

इलाम । अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक जनधनको क्षति, सडक अवरुद्ध र जनजीवन अस्तव्यस्त बनेको पृष्ठभूमिमा पूर्व सांसद सुहाङ नेम्वाङले इलामलाई तत्काल “संकटग्रस्त क्षेत्र” घोषणा गर्न सरकारसँग माग गरेका छन्।

नेम्वाङले निरन्तरको वर्षाले इलामका विभिन्न स्थानीय तहमा पहिरो, सडक ध्वस्त र सम्पर्क विच्छेदका कारण राहत तथा उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको उल्लेख गर्दै तत्काल विशेष सरकारी हस्तक्षेप आवश्यक भएको बताएका छन्।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा इलामलाई संकटग्रस्त क्षेत्रको सूचीमा सूचीकृत गर्नुपर्ने र तत्काल राहत, उद्धार तथा पुनःस्थापना कार्यका लागि आवश्यक स्रोत–साधन परिचालन गर्न सरकार जिम्मेवार हुनुपर्ने बताइएको छ।

सडक अवरोधका कारण राजधानी र जिल्ला केन्द्रबीचको आवागमन ठप्प बनेको र आवश्यक औषधि, राहत सामग्री तथा जनसञ्चारमा अवरोध देखिएको भन्दै नेम्वाङले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न पनि माग गरेका छन्।

उनले भनेका छन्, “विपद् व्यवस्थापनमा ढिलाइले जनजीवन थप जोखिममा पर्ने भएकाले सरकार तत्काल सक्रिय हुनुपर्छ।”

नेम्वाङले इलामका दुर्गम गाउँहरूमा राहत पुगोस् र उद्धार सहज होस् भन्ने उद्देश्यले स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि समन्वयमा काम गर्न आग्रह गरेका छन्।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार