झापा : ‘जेनजी’ आन्दोलनको क्रममा झापाका विभिन्न इलाका प्रहरी कार्यालयबाट ९२ जना थुनुवा फरार हुँदा स्थानीयस्तरमा अपराधको जोखिम बढेको छ। फरारमध्ये तीन जना मात्र नियन्त्रणमा आएका छन् भने बाँकी ८९ जना अझै प्रहरीको सम्पर्क बाहिर छन्।
गत भदौ २४ गते अनारमनी इलाका प्रहरी कार्यालयबाट ३६, दमकबाट ५१ र झिलझिलेबाट पाँच गरी कुल ९२ जना थुनुवा फरार भएका थिए। उनीहरू विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका अभियुक्त थिए। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, तीन जना बाहेकका सबै फरार थुनुवाको खोजीकार्य तीव्ररूपमा जारी छ।
फरार घटना ‘जेनजी’ प्रदर्शनको क्रममा भएको थियो। प्रदर्शनकारीहरूले दमक, बिर्तामोड र झिलझिलेका इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी समेत गरेका थिए। बिर्तामोड प्रहरी कार्यालयमा नियन्त्रणमा रहेका केही हतियार सेनाले फिर्ता लिएको भए पनि, दमकबाट लुटिएका हतियार फरार थुनुवासँगै समाजमा घुलमिल भएकाले अपराधको जोखिम बढेको स्थानीयले बताएका छन्।
प्रहरीले फरार थुनुवाको खोजी, नियन्त्रणमा रहेका हतियारहरूको सुरक्षासम्बन्धी कार्यलाई अझ तीव्र बनाएको छ। यस घटनापछि झापामा सुरक्षा व्यवस्था कडा बनाइएको छ र समुदायलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको छ।
प्रतिक्रिया