पत्रकार आचारसंहिताको कडाइका लागि प्रेस काउन्सिलको पाँच बुँदे निर्णय

भ्रामक समाचारविरुद्ध कडा अनुगमन, आचारसंहिता उल्लङ्घन गर्ने मिडियालाई चेतावनी

शुक्रबार, २४ असोज २०८२

काठमाडौँ : पत्रकारितामा विश्वसनीयता र उत्तरदायित्व सुनिश्चित गर्न प्रेस काउन्सिल नेपालले आचारसंहिता पालनामा कडाइ गर्ने निर्णय गरेको छ।

पछिल्ला दिनहरूमा मिडिया क्षेत्रभित्र देखिएका भ्रामक र एकपक्षीय समाचारका घटनाले बढाएको चिन्तालाई ध्यानमा राख्दै काउन्सिलले आज बसेको बैठकबाट पाँच बुँदे महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको हो।

काउन्सिलका अनुसार आचारसंहिता उल्लङ्घनका घटनामा वृद्धि भएसँगै अब अनुगमन प्रक्रिया थप सशक्त र प्रभावकारी बनाइनेछ। विशेषगरी आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा कुनै पनि मिडियाले गलत वा भ्रामक सामग्री सम्प्रेषण गरे कानुनी कारबाही गरिने चेतावनी काउन्सिलले दिएको छ।

बैठकले अनुगमनलाई व्यवस्थित बनाउन तीन जना ‘फोकल पर्सन’ तोकेको छ -

  • नकुल अर्याल (टेलिभिजन तथा एफएम रेडियोका लागि)

  • पदमराज जोशी (छापा माध्यमका लागि)

  • शन्तराम बिडारी (अनलाइन मिडियाका लागि)

अब आचारसंहितासम्बन्धी कुनै पनि उजुरी वा गुनासा यी फोकल पर्सनहरू मार्फत सीधा काउन्सिलमा पेस गर्न सकिनेछ।

त्यस्तै, सातै प्रदेशमा पत्रकार आचारसंहिता, मिडिया अनुगमन र श्रमजीवी पत्रकारहरूको अवस्था विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

भदौ ५ देखि असोज ५ सम्म प्रकाशित तथा प्रसारित सामग्रीको विशेष अनुगमनका लागि काउन्सिल सदस्य बालकृष्ण अधिकारीको संयोजकत्वमा विज्ञहरूको कार्यदल गठन गरिएको छ।

यस कार्यदलले देशभरका छापा, अनलाइन, टेलिभिजन र रेडियो माध्यममा आचारसंहिता पालनाको अवस्था नाप्नेछ।

काठमाडौँ उपत्यकाका छ वटा टेलिभिजनमा गरिएको नमुना अनुगमनको आधारमा अब देशभर स्थलगत अनुगमन विस्तार गरिने काउन्सिलले जनाएको छ। साथै,आचारसंहिता उल्लङ्घनका कारण कालोसूचीमा परेका वा सूचीबाट हटाइएका मिडियालाई पुनः काउन्सिल सम्पर्कमा आएर आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन आग्रह गरिएको छ।

press bigyapti 2082-6-24

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार