प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

सोमबार, १९ माघ २०८२

मलेखु । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता पालनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित निर्वाचन आचारसंहिता तथा मिडिया जागरण अभियान सुरु गरेको छ।

निर्वाचनका बेला राजनीतिक दल तथा सञ्चारमाध्यम दुवै पक्षबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटना न्यूनिकरण गर्ने लक्ष्यसहित उक्त अभियान आइतबार धादिङबाट सुरु गरिएको हो। सोही अवसरमा नेपाल पत्रकार महासङ्घले पनि जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ तथा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी राष्ट्रिय अभियान धादिङबाटै प्रारम्भ गरेको छ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले निर्वाचनको समयमा आचारसंहिता पालना गर्नु अनिवार्य भएको उल्लेख गर्दै अनलाइन, रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाले जिम्मेवार मिडियाको भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले सञ्चारकर्मीले निष्पक्षता, सन्तुलन र सत्यतामा आधारित भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न पत्रकार आचारसंहिताको पालना अपरिहार्य रहेको बताइन्। सञ्चारमाध्यम र सञ्चारकर्मी जिम्मेवार भए नागरिक सचेत र बलियो हुने उल्लेख गर्दै उनले निर्वाचनका बेला कसैको पक्ष वा विपक्षमा नलागी नागरिकलाई सही सूचना दिन पत्रकारहरूले विशेष ध्यान दिनुपर्ने धारणा राखिन्।

कार्यक्रममा सूचना विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरू शान्तराम विडारी, भीमलाल श्रेष्ठ, नकुल अर्याल, बालकृष्ण अधिकारी, पदमराज जोशी, कुमारीनिमा काफ्ले, विजयराज अधिकारी र केशवशरण लामिछानेलगायतले निर्वाचन जागरणका क्रममा सञ्चारकर्मी तथा मिडियाले ध्यान दिनुपर्ने विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए।

यसैबीच नेपाल पत्रकार महासङ्घ धादिङ शाखाले छुट्टाछुट्टै विधामा चार जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ। राजेन्द्रप्रताप शाह स्मृति पत्रकारिता पुरस्कार पत्रकार केशव अधिकारीलाई १५ हजार रुपैयाँ नगदसहित प्रदान गरिएको छ। यस्तै, सीतारामप्रसाद वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार पत्रकार पोषणाथ अधिकारीलाई, विकास पत्रकारिता पुरस्कार पत्रकार राजन अधिकारीलाई तथा शालिकराम वर्मा स्मृति पुरस्कार पत्रकार रामबहादुर ठकुरीलाई प्रदान गरिएको हो।

त्यसैगरी नेपाल पत्रकार महासङ्घ धादिङले आफ्नो आधिकारिक वेबसाइट www.fnj.org आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। वेबसाइटमा महासङ्घका गतिविधि, इतिहास, सदस्यहरूको विवरण तथा सञ्चारसंस्थासम्बन्धी जानकारी समावेश गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार