हेटौँडा । हाइटेन्सन लाइन पीडित सङ्घर्ष समितिले नेपाल विद्युत् प्राधिकरण र नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनालाई हेटौँडा–धल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन निर्माण कार्य तत्काल रोक्न माग गरेको छ ।
समितिले २०८२ असोज १९ गते नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूसँग भएको छलफलमा उचित सहमति नजुटेको र प्रभावित स्थानीय नागरिकको हकहित बेवास्ता गरिएको भन्दै पुनः विरोध स्वरूप चेतावनी पत्र जारी गरेको हो ।
समितिका अनुसार, प्रसारण लाइनका टावरहरू हेटौँडा–१६ को हिलेटार र आसपासका बस्ती हुँदै जाँदा स्थानीय बासिन्दाको जग्गा र बस्ती प्रभावित हुने देखिएको छ । प्रभावितहरूले उचित मुआब्जा, पुनः स्थापनाको व्यवस्था र वैकल्पिक मार्ग निर्धारण नगरी जबरजस्ती टावर निर्माण कार्य अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् ।
सङ्घर्ष समितिका संयोजक हरि प्रसाद बानियाँद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘स्थानीय नागरिकको सहमति विना जबरजस्ती टावर निर्माण गर्ने कार्य गैर कानुनी र अन्यायपूर्ण भएकोले तत्काल स्थगन गरिनुपर्छ ।’
समितिले आगामी असोज २२ गते हेटौँडा–१६ स्थित सभा हलमा सर्वसाधारण र प्रभावित नागरिकको भेलाको आयोजना गरी आगामी आन्दोलनका कार्यक्रम तय गर्ने बताएको छ ।
उक्त पत्रको प्रतिलिपि मकवानपुर जिल्ला प्रशासन कार्यालय र हेटौँडा उपमहानगरपालिकामा समेत पठाइएको छ ।
प्रतिक्रिया