राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् ।
उधौली पर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विभिन्न जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको बताएकी हुन् ।
उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उल्लेख गर्दै राष्ट्रपतिले यसपर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
उनले प्रकृतिसँग तादात्म्यता कायम गरी जीवन निर्वाह गर्ने अभ्यस्त किराँत समुदायले जाडो मौसम सुरु भएपछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको सन्देशमा उल्लेख गरेकी छन् ।
प्रतिक्रिया