एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन

मंगलबार, ०२ मंसिर २०८२

कीर्तिपुरः नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी  परिचालन गरिएको छ ।
 
    एनपिएल सुरक्षाको नेतृत्व गरी रहनुभएका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताए । 

त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैँले व्यवस्था गरेका समेत गरी एक हजार ५०० भन्दा बढीको सङ्ख्यामा  सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । । रङ्गशाला परिसरमा नया संरचनाहरू तयार भएको र नेपालीहरुमा बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको उनको भनाइ छ । 

    “यसपटक एकैतर्फ तीनवटा सम्म ढोकाबाट दर्शक प्रवेश गराउने व्यवस्था भएकाले गत वर्षझैँ एकै ठाउँमा भीड जम्मा हुने अवस्था हुँदैन,” उनले भने । 

    रङ्गशालामा ४२ वटा सिसिटिभी क्यामेरामार्फत चौबिसै घण्टा निगरानी गरिएको छ । यस पटक ड्रोनबाट समेत सुरक्षा निगरानी गरिएको छ । खासगरी टिकट वा प्रवेश पास नभएका व्यक्तिहरु गेटअगाडि जम्मा नहुन् भन्नेतर्फ विशेष ध्यान पु¥याइएको छ । यसका लागि बाहिरी पर्खालमा समेत काँडेतार लगाइएको छ । 

    एनपिएलमा प्रहरीका साथै अनुसन्धान, सुरक्षाजाँच यन्त्रहरु र कुकुरको समेत प्रयोग गरी प्रत्येक दिनका खेलअघि जाँच गर्ने गरिएको जानकारी पनि उपरीक्षक भट्टराईले दिए ।

 रङ्गशालाको मूलबाटो बाटै त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग जाने गाडीहरु हिँड्ने भएकाले ट्राफिक व्यवस्थापन केही चुनौती भएको जनाइएको छ । 

खेलाडीको निवास र रङ्गशालासम्म उनीहरुको आवतजावतलाई सुरक्षित बनाउन समेत प्रहरी परिचालन गरिएको उपरीक्षक भट्टराईले बताए  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार