विवादास्पद नियुक्तिबारे प्रधानमन्त्रीको सचिवालयले दियो स्पष्टीकरण

सोमबार, ०८ मंसिर २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको निजी (स्वकीय) सचिवालयमा कर्मचारी नियुक्तिलाई लिएर उठेका विवाद तथा प्रकाशित-प्रसारित सामग्रीप्रति प्रधानमन्त्रीको स्वकीय सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सचिवालयका प्रेस संयोजक रामबहादुर रावलले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘जेनजी आन्दोलनको बलमा स्थापित’ यो सरकार मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार रहेको स्पष्ट पारेका छन्। राज्य कोषमा कम भार परोस् र छरितो रूपमा काम गर्न सकियोस् भन्ने उद्देश्यले निकै कम जनशक्तिबाट सचिवालय सञ्चालन हुँदै आएको समेत विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१) को व्यवस्थाअनुसार नै नियुक्ति भएको दाबी गरिएको छ।

प्रधानमन्त्रीको परिवारमा श्रीमान् मात्र रहेको र उहाँहरूको वृद्ध उमेरका कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति छनोट गरिएको स्पष्ट पारिएको छ। निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा खटिनुपर्ने भएकाले सुरक्षाका कारणले समेत भरपर्दो व्यक्तिको कानुनसम्मत नियुक्ति गरिएकोमा प्रश्न नउठाउन अनुरोध गरिएको छ।

साथै अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाइएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको पाइएकोले त्यसो नगर्न पनि अनुरोध गरिएको छ।

‘अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रूपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ।’ विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल २ जना मात्र नियुक्त भएका छन् । १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि ४ जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक छन् । स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत छन् । यी सबै गरी ६७ जनाको दरबन्दी रहेको र विगतका सरकारहरूले प्रायः ती सबैमा पदपूर्ति गरी आएकामा हाल प्रधानमन्त्रीले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र निकै कम जनशक्तिको अर्थात् २० जनाको मात्र सचिवालय बनाएको बताइएको छ ।

साथै जेनजी आन्दोलनको मर्म र भावनाअनुसार सुशासन कायम गर्दै स्वच्छ, निष्पक्ष, भयरहित ढङ्गले निर्वाचन गर्न यो सरकार लागिपरेका बेला यसबाट ध्यान भङ्ग गराउने उद्देश्यले आएका सामग्रीहरूमा विश्वास नगर्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार