रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते भएका छन्।
दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको बिआर ०७ पिए ७५८४ नम्बरको भारतीय स्कार्पियोलाई ठक्कर दिएको थियो।
स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालका अनुसार सवारी दुर्घटनाका कारण सडकछेउमा रहेको विजय साहको होटलमा समेत क्षति पुगेको छ ।
बारा आदर्श कोतवाल गाउँपालिका वडा ७ का ३० वर्षीय पवन यादव, सर्लाही बरहथवा नगरपालिका वडा नं. १४ का ११ वर्षीय अंकित महतो, गौर नगरपालिका वडा नं. २ का २४ वर्षीय सुरेन्द्र कुमार साह, राजदेवी नगरपालिका वडा नं. ८ का ५० वर्षीय शिवजी साह, ५२ वर्षीय रामदयाल साह, अटो चालक यमुनामाई गाउँपालिका वडा नं. ५ का ३९ वर्षीय मंगल पटेल र अटोमा सवार राजपुर नगरपालिका वडा नं. ३ का १० वर्षीय तारिक वस्ता घाइते भएको डिएसपी बस्यालले बताए। गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत पर्ने बम नहर चौक नजिक मंगलबार बिहान सवारी दुर्घटना भएको थियो।
घाइतेहरुको प्रादेशिक अस्पताल गौरमा उपचार पश्चात् डिस्चार्ज गरिएको र दुर्घटनामा संलग्न तीनै सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रतिक्रिया