एमाले महाधिवेशन : ओली–ईश्वरबीच दोहोरो शक्ति–परीक्षा, बलियो सारथि खोज्ने दौड तीव्र

बुधबार, १७ मंसिर २०८२

काठमाडौँ : ११औँ महाधिवेशनको चटारोले छोपिएको नेकपा एमालेभित्र आफ्नो पक्षमा शक्ति बढाउन नेताहरू प्रतिनिधिहरूसँग तानातान गर्दै छन्। मङ्सिर २७–२९ मा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिसकेका छन्।

देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट सकिएसँगै दुवै पक्ष एकअर्को समूहका नेताहरू रिझाउँदै बलियो टिम बनाउने प्रयासमा छन्। संस्थापनइतर ईश्वर समूहलाई प्यानल बनाउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समेत सक्रिय छिन्। सो समूहमा भण्डारीनिकट ईश्वर पोखरेल, कर्ण थापा, गोकुल बास्कोटा तथा ‘१० बुँदे’ भनेर चिनिने ओलीविरोधी खेमाका नेताहरू खुलेर लागेका छन्। त्यस्तै, ओलीलाई उनको पुरानो समूहसँगै पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूको समेत साथ छ।

महाधिवेशन नजिकिँदै जाँदा अधिकांश पदाधिकारी ओली पक्षमा खुलेका छन्। उपाध्यक्षहरू विष्णु पौडेल, गुरु बराल, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिव पद्मा अर्याल, लेखराज भट्ट, भानुभक्त आचार्य, महेश बस्नेत, रामकुमारी झाँक्री, सूर्य थापा लगायतका नेता ओलीलाई पुनः अध्यक्ष बनाउन लागिपरेका छन्। धेरै आकाङ्क्षी खुलेका कारण पद व्यवस्थापन ओली समूहका लागि चुनौती बन्दै गएको छ।

विगत ९औँ र १०औँ महाधिवेशनबाट निर्वाचित हुँदै दुई कार्यकाल अध्यक्ष चलाएका तथा चारपटक प्रधानमन्त्री भइसकेका ओलीले तेस्रोपटक अध्यक्ष बन्नकै लागि पार्टी विधान संशोधन गराउँदै ‘दुई कार्यकाल’ र ‘७० वर्ष उमेर सीमा’ जस्ता व्यवस्था हटाइसकेका छन्। सो व्यवस्थाबाट ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यजस्ता ७० वर्ष नाघेका नेताहरू पनि लाभान्वित भएका छन्। ‘जुन व्यवस्था ९औँ महाधिवेशनमा ओलीकै प्रस्तावमा राखिएको थियो, अहिले आफ्नै लागि उहाँले हटाउनुभयो,’ उपाध्यक्ष युवराज ज्ञवालीले भने।

संस्थापनइतर समूहका ज्ञवाली भन्छन्— ‘अहिले हामीले अध्यक्ष मात्रै तय गरेका छौँ। टिमका विषयमा छलफल भइरहेको छ, केही दिनमै टुङ्गो लाग्छ।’ प्रतिनिधि सङ्ख्या पनि हाराहारी रहेको दाबी गर्दै उनले भने, ‘उहाँहरू अत्यधिक हौसिनुभएको छ, यथार्थमा त्यस्तो छैन। मौन मत (साइलेन्ट भोट) धेरै भएकाले हामी अगाडि आउनेछौँ।’

कुनैबेला एउटै टिम भएर माधव नेपाल, वामदेव गौतम, झलनाथ खनालविरुद्ध महाधिवेशन लडेका ओली र ईश्वरबीचको भिडन्त यसपटक निकै रोचक हुने निश्चित छ। यद्यपि ओलीसँग प्रतिस्पर्धा गर्नेहरू एमालेमा टिकेका छैनन्— माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायतका नेता अहिले प्रचण्ड नेतृत्वको नेकपामा पुगेका छन्। यसपटक पनि त्यस्तै दोहोरिन सक्ने कार्यकर्ताको चिन्ता छ।

ओलीनिकट महेश बस्नेत भन्छन्— ‘जनआन्दोलनपछिको राजनीतिक परिस्थिति र पार्टीलाई सम्हाल्न ओलीकै विकल्प छैन। एमालेबाट सबैभन्दा धेरै सुविधा पाएका नेताहरू नै आज असन्तुष्ट भएर नेतृत्वविरुद्ध उभिएका छन्।’ उनका अनुसार, ‘मुलुक र पार्टी चौतर्फी घेराबन्दीमा हुँदा त्यससँग लड्न सक्ने नेता ओली मात्रै हुनुहुन्छ।’

बस्नेतले विद्यादेवी भण्डारी, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, ईश्वर पोखरेललगायत नेता एमालेमा रहँदा सबैभन्दा बढी पद–प्रतिष्ठा उपभोग गरेर अहिले पार्टीलाई कमजोर बनाउन लागिएको आरोप लगाए।

यसपटकको महाधिवेशन रोचक हुनुको मुख्य कारण ओली–विद्या सम्बन्धमा आएको दरार हो। कुनैबेला ओलीका सबैभन्दा विश्वस्त मानिएकी भण्डारीकै योजनामा अर्को प्यानल खडा हुन थालेको छ।

भण्डारीलाई ओलीकै समर्थनमा दुईपटक राष्ट्रपति बनाइएका थिए। २०७७ पुस ५ र २०७८ जेठ ७ मा ओलीको सिफारिसमा संसद् विघटन स्वीकृत गरेपछि उनी विवादमा तानिएकी थिइन्। तर अहिले भण्डारीको सदस्यता स्थगन गरेर ओलीले उनलाई महाधिवेशनबाटै वञ्चित पारेपछि उनी विपक्षी टिम बनाउने अभियानमा जुटेकी हुन्।

उनको टिममा उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, गोकुल बास्कोटा, बिन्दा पाण्डे, कर्ण थापा, उषाकिरण तिम्सिना लगायतका नेता सक्रिय छन्। यीमध्ये धेरै नेता ९औँ महाधिवेशनमा ओलीका निकट थिए। यद्यपि संसद् विघटनपछि उनीहरूले ओलीविरुद्ध आन्दोलन गरेका थिए।

मङ्सिर अन्तिम सातामा भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशन नजिकिँदै जाँदा एमाले नेतृत्वदेखि प्यानलसम्म स्पष्ट रूपमा दुई समूह बनेर आमनेसामने उभिएका छन्। सोमबार पोखरेल समूहले बानेश्वरस्थित विद्या भण्डारीको सम्पर्क कार्यालयमा तयारी बैठक गर्दै रणनीति तय गरेको छ।

सो बैठकमा सहभागी एक नेताका अनुसार— ‘हामी निरन्तर छलफलमा छौँ। टिमको खाका बनेको छ तर सार्वजनिक गर्ने समय आएको छैन। ओली पक्षको टिम हेरेर अन्तिम टुङ्गो लगाइन्छ।’ उनका अनुसार, ओली पक्षका केही नेतासमेत ईश्वर समूहबाटै चुनाव लड्न तयार भएर बसेका छन्।

अहिलेसम्म केही नेता दुवै पक्षमा खुलेका छैनन्— छविलाल विश्वकर्मा, रघुवीर महासेठ, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठलगायत। नखुलेका भए पनि अन्तिममा ओलीलाई साथ दिने दाबी संस्थापन समूहको छ। उनीहरूको भनाइमा केन्द्रीय कमिटीका ८० प्रतिशत सदस्य ओली पक्षमै छन्। तर पद नपाए भने पोखरेल समूहबाट चुनाव लड्ने तयारी केही नेतामा देखिन्छ, जसले महाधिवेशनको समीकरण बदल्न सक्ने अनुमान छ।

ओली टिम मजबुत बनाउन अधिकतम प्रयासरत छन्— सहमतिबाट जाने वा सहज प्रतिस्पर्धाका लागि नरम बन्ने रणनीतिसहित। दुवै पक्षले आन्तरिक रूपमा टिम तयार गरिसके पनि अन्तिम चरणमा फेरबदल हुनसक्ने सङ्केत दिइएको छ। उपमहासचिव पृथ्वी सुब्बा गुरुङ भन्छन्— ‘टिम मोटामोटी बनिसकेको छ, तर अन्तिम रूप दिन केही दिन लाग्छ। देशभरका प्रतिनिधिको चाहनाअनुसार अघि बढ्छौँ।’

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार