८ वर्षअघि भोजपुरमा श्रीमतीको हत्या गरेर भागेका अभियुक्त मोरङको बेलबारीबाट पक्राउ

शुक्रबार, २६ मंसिर २०८२
फाईल फोटो

विराटनगर । भोजपुरमा ८ वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका एक जना अभियुक्त मोरङको बेलबारीमा भेटिएका छन् ।

बेलबारीमा फेला पारेर प्रहरीले भोजपुर नगरपालिका–६ देउराली घर भएका ६३ वर्षीय नारदमणि राईलाई पक्राउ गरेको छ । राई पक्राउ परेसँगै लामो समयदेखि अलमलिँदै आएको एउटा पुरानो हत्या प्रकरण फेरि एकपटक चर्चामा आएको छ ।

भोजपुर प्रहरीका निमित्त प्रमुख तथा प्रवक्ता इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार २०७४ साल साउन १९ गते बिहानका राति करिब १ बजेतिर नारदमणिले श्रीमती ४६ वर्षीया अम्बिका श्रेष्ठ (राई)लाई घरभित्रै कुटपिट गरी हत्या गरेका थिए । घरभित्रै सुतिरहेका बेला श्रीमानको कुटाइबाट अम्बिकाले ज्यान गुमाउनु परेको थियो । 

श्रीमतीको हत्यापछि तत्काल घटनास्थलबाट फरार भएका नारदमणि लामो समयपछि पक्राउ परेका हुन् । उनी ८ वर्षदेखि प्रहरीको खोजी सूचीमा थिए । कर्तव्य गरेर श्रीमतीलाई मारेपछि भागेका उनी मोरङको बेलबारी नगरपालिका–३ मा लुकेर बसेको पत्ता लगाएको हो । 

नारदमणि बेलबारी नगरपालिका–३ का छत्रबहादुर गुरुङको घरमा डेरा लिएर बस्दै आएको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनले आफूलाई सामान्य रूपले परिचित गराउँदै डेरामा बसेर दैनिक गतिविधि गर्दै आएका थिए । 

श्रीमती हत्याका अभियुक्त लुकेर बसेको सूचना पाएपछि निगरानीका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीले असई रामकुमार बम्जनको नेतृत्वमा टोली परिचालन गरेका थिए । सोही क्रममा नारदमणिलाई डेरानजिकैबाट नियन्त्रणमा लिन प्रहरी सफल भएको हो । त्यसपछि भोजपुरबाट पुगेको सहायक हवल्दार प्रवीण राईको टोलीसँग समन्वय गरी उनलाई बिहीबार नै अड्डासार गर्दै भोजपुर पुर्‍याइएको छ । 

हाल नारदमणि जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा रहेका छन् । अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा विस्तृत अनुसन्धान अघि बढाइने इन्स्पेक्टर पराजुलीले जानकारी दिए । उनका अनुसार घरायसी विवादकै कारण पत्नीको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

तर, घटनाक्रम एवं विवादको वास्तविक कारणका बारेमा विस्तृत अनुसन्धानपछि प्रष्ट हुने पराजुलीले बताए । ८ वर्षअघि भएको एउटा घरेलु अपराध लामो समयसम्म न्याय प्रक्रियाबाट टाढा रहे पनि प्रहरी सक्रियताका कारण अभियुक्त पक्राउ परेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार