मोरङमा घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा दम्पती घाइते

सोमबार, २९ मंसिर २०८२
सांकेतिक तस्बिर

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ काशीजानको एउटा घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा दम्पती घाइते भएका छन् । प्रहरीका अनुसार आगोले पोलेर घाइते भएकाहरुको अवस्थामा सामान्य छ । 

श्यामप्रसाद दासको घरमा आइतबार राति १० बजेतिर आगलागी सुरु भएको थियो । आगोले दासको २ तले कच्ची घरसहित अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत घरभित्र रहेका सबै सामान जलेर ध्वस्त भएको जानकारी प्रहरीले दिएको छ । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले दमकल र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । घटनामा करिब १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीले क्षतिको विवरण संकलन गरिसकेको छैन । आगलागीको कारण प्रष्ट हुन नसकेको प्रहरीको भनाइ छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान थालिएको जनाएको छ ।  

आगो निभाउने क्रममा सुनवर्षी–४ का २६ वर्षीय आवेशकुमार दास र उनकी श्रीमती २३ वर्षीया पूजा दास घाइते भएका छन् । आगोले आवेशको निधार र पूजाको दायाँ हातमा पोलेको छ । प्रहरीका अनुसार उपचारका लागि रंगेली अस्पतालमा लगिएका उनीहरुको अवस्था सामान्य छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार