मोरक्को विरुद्ध गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको क्रोएसियाले क्यानडाविरुद्ध ४-१ को जित निकालेको थियो भने बेल्जियमविरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो । अन्तिम १६ मा १२० मिनेटको खेल १-१ को बराबरी भएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराएर क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।
ब्राजिल हाल फिफा वरीयतामा विश्व नम्बर एकमा छ । समुह चरणमा एक खेल हारेपनि समुह बिजेता बनेको ब्राजिलले प्रि क्वाटरफाइनलमा दक्षिण कोरियालाई हराएको थियो । रुसमा आयोजित अघिल्लो बिश्वकपमा क्वाटरफाइनल पुगे पनि बेल्जियमसँग पराजित हुँदै ब्राजिल घर फर्केको थियो ।
सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा ब्राजिलले उपाधि जितेको थियो । त्यसपछि ब्राजिल फाइनल पनि पुग्न सकेको छैन ।
यता नेदरल्याण्ड्स फिफा वरीयतामा ८औं स्थानमा छ । तीन पटकसम्म विश्वकपको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्याण्ड्स ८ वर्षपछि विश्वकपमा फर्कंदै क्वाटरफाइनल पुगेको हो ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको नेदरल्याण्ड्स अर्जेन्टिनासँग नै पराजित भएको थियो । आयोजक ब्राजिललाई हराएर नेदरल्याण्ड्स तेस्रो भएको थियो । ८ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको नेदरल्याण्ड्सको भेट यस पटक पनि अर्जेन्टिनासँग हुँदैछ ।
नेदरल्याण्ड्स समूह चरणमा २ जित र १ बराबरी नतिजासहित समूह विजेता बनेको थियो । समूह चरणमा सेनेगललाई २-० र कतारलाई २-० ले पराजित गरेको थियो भने इक्वेडरसँग १-१ को बराबरी खेलेको थियो । नेदरल्याण्ड्सले अन्तिम १६ मा अमेरिकालाई ३-१ ले हराएको थियो ।
अर्जेन्टिना फिफा वरीयतामा तेस्रो स्थानमा छ । पहिलो खेल हारे पनि अर्जेन्टिनाले त्यसपछि लगातार दुई खेल जित्दै समूह ‘बी’ को विजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो ।
लिओनल मेसीको सम्भावित अन्तिम विश्वकपको रुपमा रहेको यस संस्करणमा अर्जेन्टिना च्याम्पियन बन्दै ३६ वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यमा छ ।
अर्जेन्टिना र नेदरल्याण्ड्स पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलमा भिडेका थिए । जहाँ अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल पुगेको थियो । त्यसपछि २०१८ मा नेदरल्याण्ड्स छनोट नै भएन । अर्जेन्टिना भने अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । पछिल्लो दुई विश्वकपमा अर्जेन्टिनालाई हराउने टिम नै च्याम्पियन बनेको छ ।
अर्जेन्टिना पनि ८ वर्षपछि क्वाटरफाइनल खेल्दैछ । सन् २०१४ मा फाइनल पुगेको अर्जेन्टिना २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो ।
यस पटक पहिलो खेलमै साउदी अरेबियाविरुद्ध अप्रत्यासित २-१ को हारपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने हो कि भन्ने खतरा बढेको थियो । तर त्यसपछि मेक्सिको र पोल्याण्डलाई समान २-० को नतिजामा हराएर अर्जेन्टिना समूह विजेता बनेको थियो ।
अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराएको थियो ।
प्रतिक्रिया