रंगेलीको संसारीमाई मन्दिरबाट मूर्ति, गरगहना र नगद चोरी

आइतबार, २० पुस २०८२

विराटनगर । मोरङको रङेली नगरपालिका–७ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको संसारीमाई मन्दिरमा चोरी भएको छ । 

मन्दिरमै चोरी भएपछि धार्मिक स्थलहरूको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठेको छ । रातको समयमा अज्ञात समूहले मन्दिरको च्यानल गेटमा लगाएको ताल्चा फोडेर भित्र प्रवेश गरेर चोरी गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । 

उनका अनुसार मन्दिरबाट देवीदेवताका मूर्ति, गरगहना तथा दानपेटिकामा रहेको नगद चोरी भएको पाइएको छ । मन्दिरका मेनेजर पङ्कज झाले घटनाका बारेमा प्रहरीलाई आइतबार बिहान जानकारी गराएका थिए । 

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोलीले मन्दिर परिसरको मुचुल्का उठाउने, क्षतिग्रस्त ताल्चा तथा दान पेटिकाको अवस्था निरीक्षण गर्ने र सम्भावित चोरी भएको समय एवं तरिका पहिचान गर्ने काम गरेको छ ।

मन्दिरबाट संसारी माताका २ थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दान पेटिकाको सिसा फोडेर त्यहाँभित्र रहेको नगद चोरी भएको डीएसपी चुँडालले बताइन् । चोरी भएको नगदको यकिन विवरण भने दान पेटिकाको नियमित हिसाबकिताब र अभिलेखको आधारमा मात्र खुल्ने प्रहरीको भनाइ छ । 

चोरी कुन समयमा भएको हो भन्ने विषय पनि अझै स्पष्ट हुन सकेको छैन । तर, मन्दिर राति सुनसान हुने समयलाई लक्षित गरेर योजनाबद्ध रूपमा चोरी गरिएको हुन सक्ने आशङ्का छ ।

चोरीमा संलग्नको पहिचान हुन सकेको छैन । पहिचानको प्रयास गर्दै खोजी तीव्र पारिएको चुँडालले बताइन् । चोरीमा संलग्नको खोजीका लागि इन्स्पेक्टर बोगटीको नेतृत्वमा टोली परिचालित छ । 

धार्मिक स्थलहरूमा भक्तजनको विश्वास, आस्था र श्रद्धासँग जोडिएका बहुमूल्य सामग्री रहने भएकाले यस्ता स्थान अपराधीको सजिलो निशाना बन्दै गएको स्थानीयहरूको गुनासो छ । मन्दिरजस्तो पवित्र स्थलमा भएको चोरीलाई सामान्य आपराधिक घटनाका रूपमा मात्र लिन नहुने बताउँदै स्थानीयले सामाजिक एवं धार्मिक भावनामा पनि गहिरो चोट पुगेको बताएका छन् । 

प्रहरीले चोरीमा संलग्नको पहिचानका लागि स्थानीय बासिन्दासँग सोधपुछ र विगतमा यस्तै प्रकृतिका घटनामा संलग्न व्यक्तिहरूको प्रोफाइल अध्ययन गरिरहेको छ । प्रहरी स्रोतका अनुसार चोरी योजनाबद्ध देखिएकाले घटनामा एक्लो व्यक्तिभन्दा समूहको संलग्नता हुन सक्ने सम्भावना धेरै छ । 

मन्दिरजस्ता संवेदनशील स्थलमा नियमित गस्ती, पर्याप्त बत्तीको व्यवस्था, बलियो ताल्चा र निगरानी प्रणाली (सिसिटिभी) जडान नगर्दा यस्ता घटना दोहोरिन सक्ने जोखिम रहेको स्थानीयको भनाइ छ । चोरीपछि मात्र सुरक्षा चासो बढ्नु दीर्घकालीन समाधान नभएर रोकथाममुखी नीति आवश्यक रहेकोमा उनीहरूको जोड छ ।

स्थानीयले दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरेर सार्वजनिक गरी कडा कारबाही गर्न माग गरेका छन् । संसारीमाईमा भएको चोरीले धार्मिक स्थलको सुरक्षा मन्दिर व्यवस्थापनको जिम्मेवारी मात्रै नभएर राज्य र समाज दुवैको साझा दायित्व हो भन्ने सन्देश दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार