काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' आज भारत जाँदैछन् । नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” मा सहभागी हुन अध्यक्ष प्रचण्ड आज जान लागेको सचिवालयले जनाएको छ।
तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीको एकता भएपछि उनी पहिलो पटक भारत जान लागेका हुन्। सोमबार लाजपत भवन अडिटोरियम लाजपत नगरमा हुने कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने र नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गरिनेछ। नेपाली समाज भारतका महासचिव आरबी खड़काले जानकारी दिए।
जारी विज्ञप्तिमा भनिएको छ, 'भारतमा बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक–राजनीतिक चेतनाको अभिवृद्धि गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। नेपाली समाज भारतले प्रवासी नेपालीहरूको हक–हित, पहिचान र आपसी सहकार्यलाई निरन्तर सुदृढ बनाउँदै आएको सन्दर्भमा यो कार्यक्रम महत्वपूर्ण मानिएको छ।'
यस ऐतिहासिक अवसरमा सहभागी भई कार्यक्रमलाई भव्य र सफल बनाउन भारतमा रहनुहुने सम्पूर्ण नेपाली समुदायलाई नेपाली समाज भारतले हार्दिक रूपमा आह्वान गरेको छ। सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड सोमबार साँझ स्वदेश फर्किने आचार्यले बताए।
निर्वाचन अगाडि प्रचण्ड नयाँ दिल्ली जानुलाई अर्थपूर्ण मानिएको छ।
प्रतिक्रिया