काठमाडौं । काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका कार्यालय प्रमुख परिवर्तन गरिएको छ । बिचौलिया गतिविधि रोकथाम र सेवा प्रवाह सुधार गर्ने उद्देश्यले सरकारको निर्णयअनुसार ललितपुर, भक्तपुर र काठमाडौं (चाबहिल) मालपोत कार्यालयका प्रमुखहरुलाई परिवर्तन गरी सामान्य प्रशासन मन्त्रालयतर्फ तानिएको हो।
सरुवा गरिएका मध्ये ललितपुर मालपोतका प्रमुख अशोककुमार भट्टराई, भक्तपुर मालपोतका प्रमुख माधव घिमिरे र काठमाडौंको चाबहिल मालपोत कार्यालयका प्रमुख दीपेन्द्र खत्री परेका छन्। उनीहरुलाई मन्त्रालयमा समायोजनका लागि पठाइएको जनाइएको छ।
भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा. डा. कुमार इङनामले केही समयअगाडि उपत्यकाका मालपोत कार्यालयहरूमा छड्के अनुगमन गरेका थिए। सो क्रममा सेवा लिँदा नागरिकले भोग्नुपरेको ढिलासुस्ती, बिचौलियामार्फत काम गराउनुपर्ने बाध्यता तथा फाइल प्रक्रियामा अनावश्यक जटिलता भएको उजुरीहरू प्राप्त भएपछि मन्त्रालयले प्रारम्भिक मूल्यांकन सहित सरुवा प्रक्रिया अघि बढाएको बताइएको छ।
अनुगमनको प्रतिवेदनमा कार्यालय परिसरमै बिचौलियाको सक्रिय उपस्थिति रहेको र त्यसमा कर्मचारी तहको मिलेमतो भएको आशंका उल्लेख भएको स्रोतले जनाएको छ। यस्ता गतिविधिले संस्थागत सेवाप्रति नागरिकको विश्वास कमजोर बनाउने र भूमिसम्बन्धी प्रशासनिक सेवा प्रभावित हुने मूल्यांकन सरकारको रहेको छ।
उक्त तीनै कार्यालयका प्रमुखहरू केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्री बलराम अधिकारीको कार्यकालमा ती जिम्मेवारीमा सरुवा भई कार्यरत रहेका थिए। हालको सरकार गठनपछि सार्वजनिक गुनासा र अनुगमन प्रतिवेदनका आधारमा उनीहरूलाई जिम्मेवारीबाट फिर्ता बोलाईएको हो ।
प्रतिक्रिया