इलाम : इलामको ऐतिहासिक निशान पदमार्गमा चारदिने पदयात्राको तयारी अन्तिम चरणमा पुगेको छ। करिब दुई सय वर्ष लामो इतिहास बोकेको उक्त पदमार्गमा यस वर्ष पनि पदयात्रा आयोजना गर्न लागिएको हो।
भोली अर्थात् पुस २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने पदयात्रा करिब ४१ किलोमिटर लामो रहने जनाइएको छ। नेपाल–भारत सिमाना जोडिएको मेची नदीको शिरदेखि इलाम सदरमुकामस्थित माईस्थान मन्दिरसम्म पदयात्रा हुने बताइएको छ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका तथा नेपाली सेनाको रणसार्दुल गणको संयुक्त आयोजनामा पदयात्रा सञ्चालन गरिने इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए।
राष्ट्रिय एकता दिवसको अवसर पारेर पदयात्रा आयोजना गरिएको र राष्ट्र एकीकरणसँग जोडिएको निशान भएकाले पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा समापन कार्यक्रम तय गरिएको उनले बताए।
गत वर्ष तीन दिनमा सम्पन्न पदयात्रामा सहभागीलाई कठिनाइ भएपछि यस वर्ष चार दिनको कार्यक्रम तय गरिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए।
रणसार्दुल गण इलामका प्रमुख प्रह्लाद घलेका अनुसार, पहिलो दिन मेची बजारमा पदयात्राको उद्घाटन गरी सूर्योदय नगरपालिका–९ को रम्फोकमा बास, दोस्रो दिन पहिलो पटक निशान राखिएको पूर्णे डाँडासम्म यात्रा गरी त्यहीँ बास, तेस्रो दिन माईजोगमाई गाउँपालिका–नामसालिङस्थित हात्तीटारसम्म यात्रा गरी बास तथा चौथो दिन इलाम नगरपालिकाको माईस्थानसम्म पदयात्रा गरी कार्यक्रम समापन गरिने छ।
निशान बोकेर हिँडिएकै ऐतिहासिक बाटोलाई पछ्याउँदै पदयात्रा सञ्चालन गरिने जनाइएको छ। वर्षमा एक पटक मात्र नभई पदयात्रामार्फत पदमार्गलाई सधैं चलायमान बनाउने, ऐतिहासिक सम्पदाको पहिचान, संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्य रहेको आयोजकले बताएका छन्।
पदयात्रालाई व्यवस्थित बनाउन नेपाली सेना, तीनवटै पालिका र स्थानीय सरोकारवालाको सहभागितामा पदमार्ग सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको जनाइएको छ।
नेपाल एकीकरणका क्रममा पूर्वी सीमा विजयपछि गाडिएका निशान फर्काइएको ऐतिहासिक ‘निशान पदमार्ग’को प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले गत वर्षदेखि पदयात्रा सुरु गरिएको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको हो।
यस पदयात्राले इलाम जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। पदयात्राका लागि तीनवटै पालिकाबाट आर्थिक सहकार्य हुने जनाइएको छ।
प्रतिक्रिया