बनियानी : झापाका विभिन्न ठाउँमा जंगली हात्तीका कारण पीडित बनेका आठ सय ८३ हात्तीपीडितलाई एक करोड रुपैया भन्दा बढी राहत उपलव्ध गराइएको छ। डिभिजन वन कार्यालयका अधिकृत हिमाल पाठकका अनुसार जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको हो ।
हात्तीको आक्रमणमा परी जिल्लामा यस वर्ष मात्र चार जनाले ज्यान गुमाएका छन् भने एउटा हात्ती मृत फेला परेको समेत जनाइएइको छ । हात्तीको आक्रमणबाट सख्त खाइते दुई जनालाई चार लाख रुपैया , मृतक चार जनाको परिवारलाई ४० लाख रुपैया १० वटा पशुधन क्षतिवापत एक लाख रुपैया, एक सय ८४ परिवारले भण्डार गरेको अन्नमा क्षति भएबापत १४ लाख ५३ हजार सात सय ६४ रुपैया , दुई सय ३५ वटा घरगोठमा क्षति भएबापत ३७ लाख २२ हजार तीन सय रुपैया र चार सय ४८ किसानको अन्नबालीमा क्षति पु¥याएबापत ४० लाख ६२ हजार रुपैया क्षतिपूर्ति उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
राहत उपलब्ध गराइएकामध्ये गत आर्थिक वर्ष २०८१÷८२ का सात सय दुई जना रहेका छन् भने चालु आवमा हात्तीबाट पीडित बनेका एक सय ८१ जनालाई राहत प्रदान गरिएको जनाइएको छ । त्यसैगरी थप ११ हात्ती पीडित परिवारलाई २१ लाख राहतका लागि सिफारिस गरिएको समेत डिभिजन वन कार्यालयले जनाएको छ । केही दिनमै उनीहरुलाई समेत राहत रकम उपलब्ध गराइने वन अधिकृत पाठकले बताए ।
राहत प्रक्रियालाई सहज बनाउन जिल्लाका चार स्थानमा रहेको सब डिभिजन कार्यालयबाट पीडितले निवेदन दिने व्यवस्था मिलाइएको छ । मेची सब डिभिजन, कनकाई सब डिभिजन, जलथल सब डिभिजन र दमक सब डिभिजनबाट वन्यजन्तु पीडितले सरकारले उपलब्ध गराउने राहतका लागि निवेदन दिन सक्ने वन अधिकृत पाठकले जानकारी दिए ।
राहत प्रक्रिया झन्झटिलो भएकालेसमेत समयमै राहत वितरण गर्न नसकिएको वन कार्यालयका कर्मचारी बताउँछन् । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही १० लाख रुपैया, घाइतेलाई अधिकतम दुई लाख रुपैया, चौपाया, अन्नबाली र भौतिक संरचनामा क्षति पुर्याएको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आइएको छ ।
हरेक वर्ष हात्तीले धानवालीमा क्षति पुर्याउने गरेको तर्फ मध्यनजर गर्दै यस वर्ष डिभिजन वन कार्यालयले हात्तीबाट धानबाली जोगाउन र क्षति न्यूनीकरणका लागि गस्ती टोली परिचालन गरेको थियो । यसका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष कम क्षति भएको वन अधिकृत पाठकले बताए । धानबाली जोगाउन र भारतबाट हात्ती प्रवेश रोक्न वन रक्षकको टोली परिचालन गरेका थियौँ”, उनले भने “जसका कारण अघिल्लो वर्षभन्दा कम क्षति भएको छ ।” मानवीय क्षति हुन नदिने मुख्य उद्देश्य रहेको समेत पाठकले वताए । मकैको सिजनमा पनि पुनः गस्ती गरिने वन अधिकृत पाठकले जानकारी गराए।
गाडीसहित सात जना सशस्त्र वन रक्षकको टोलीले मेचीनगरस्थित मेची नदीमा गस्ती गरेर हात्ती प्रवेश रोक्ने, हात्ती प्रवेशबारे जानकारी दिने, हात्ती उतै फर्काउने काम गर्ने गरेका छन् । जिल्लामा मानव–हात्तीद्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविक मार्ग निर्माण, वन क्षेत्रमा हात्ती आहाल (पोखरी निर्माण), फलफूलका बिरुवा रोपण, गस्ती लगायतका क्रियाकलाप गरिदै आएको छ । त्यहीपनि मानव हात्तीद्वन्द्व न्यूनीकरण हुन सकेको छैन ।
प्रतिक्रिया