चिया प्रतिकेजी १० हजार रुपैयाँमा बिक्री

आइतबार, १७ बैशाख २०८०
इलाम । यस सिजनको चियाको टिपाई सुरुभएसँगै विदेशी चिया व्यापारी चिया खरिदका लागि नेपाल आउन थालेका छन् । तेस्रो मुलुकका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न नेपाल आउन थालेका हुन् । इलामलाई ‘चियाको राजधानी’ मानिन्छ । यहाँ गुणस्तरीय चिया उत्पादन हुने साथै धेरै किसान चिया खेतीमा संलग्न भएका कारण यसो भनिएको हो । पर्यटकीय क्षेत्र अन्तुमा अर्थोडक्स चियाको ‘टेस्टिङ’ गरिएको छ । २७औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो । त्यस अवसरमा भारत, जापान, तीन र अमेरिकालगायत देशका चिया व्यवसायीको उपस्थिति थियो । चिया टेस्टिङको अवसरमा व्यवसायीले चिया खरिद समेत गरेका थिए । नेपालमा पहिलो पटक लिलामीमार्फत चिया बिक्री भएको हो । शनिबार इलामको कन्याममा ‘डेमो अक्सन’ मार्फत प्रतिकेजी १० हजार रुपैयाँमा चिया बिक्री भएको छ । एकजना अमेरिकीले प्रतिकेजी १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरे । अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा ५ केजी अर्थोडक्स चिया ५० हजार रुपैयाँमा खरिद गरेका हुन् । सूर्योदय चिया उत्पादक संघले उत्पादन गरेको चिया किसानले प्रतिकेजी एक हजार मूल्य तोकेका थिए । उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले मोल बढाबढ गर्दै प्रतिकेजी १० हजारसम्म पुर्याएको थियो । यो चियाको उच्च मूल्य हो । चिया क्षेत्रमा पनि बिचौलियाको हावी हुँदा वास्तविक किसानले राम्रो मूल्य पाउन सकिरहेका छैनन् । विदेशी नागरिकले अन्य चिया समेत खरिद गरेका छन् । ‘अर्थोडक्स ग्रीन टी’ प्रतिकेजी ६ हजार र ‘अर्थोडक्स ग्रीनिस ब्ल्याक टी’ प्रतिकेजी ४ हजारका दरले चिनियाँ खरिदकर्ताले खरिद गरेका छन् । व्यापारीहरुले लिलाम बढाबढ गर्दै चिया किनेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी दिए । विश्व बजारमा चिया अक्सनमार्फत खरिद बिक्री हुने गरेको छ । नेपालमा भने लिलाम बजार नहुँदा पनि उच्च मूल्य पाउन मुस्किल छ । नेपाली किसानले उत्पादन गरेको चिया भारतीय बजारमा सस्तो मूल्यमा बिक्री गर्नु परिरहेको किसानले बताउँदै आएका छन् । सोझै तेस्रो मुलुक नेपाली चिया समेत निर्यात गर्न किसानहरुले माग गर्दै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार