धरान : इटहरीस्थित सैनिक अस्पतालमा यस वर्ष पहिलो पटक निःशुल्क पेट रोग (ग्यास्ट्रोएन्टेरोलोजी) स्वास्थ्य शिविर सम्पन्न भएको छ।
पुस २१ देखि २३ गतेसम्म सञ्चालन गरिएको तीन दिने शिविरबाट जम्मा ४० जना सेवाग्राही लाभान्वित भएका छन्।
अस्पतालले यसअघि निःशुल्क आँखा उपचार (Eye Camp) शिविर सञ्चालन गरिसकेको थियो भने यस वर्ष पहिलो पटक पेट रोगसम्बन्धी शिविर आयोजना गरिएको जनाएको छ।
शिविरको पहिलो दिन बाह्य सेवातर्फ १४ जनाले उपचार सेवा लिएका थिए, जसमा ७ पुरुष र ७ महिला थिए। एन्डोस्कोपी सेवातर्फ २ महिला र कोलोनोस्कोपी सेवातर्फ १ पुरुष र १ महिला लाभान्वित भए। दोस्रो दिन बाह्य सेवातर्फ १४ जना (६ पुरुष, ८ महिला) ले सेवा लिएका थिए भने एन्डोस्कोपीमा १ पुरुष र २ महिला लाभान्वित भए। अन्तिम दिन १२ जना बाह्य सेवातर्फ सेवा लिएका थिए, जसमा ३ पुरुष र ९ महिला थिए। एन्डोस्कोपी १ पुरुष र ४ महिला, साथै कोलोनोस्कोपी १ पुरुषले सेवा लिएका थिए।
तीन दिनमा बाह्य सेवा कुल ४० जना, एन्डोस्कोपी १० र कोलोनोस्कोपी २ जनाले सेवा लिएका छन्। अस्पतालका अनुसार अत्यधिक चिसो मौसमका कारण अपेक्षित सङ्ख्यामा बिरामी उपस्थित हुन नसके पनि उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गरिएको सैनिक अस्पतालका कमाण्डेन्ट प्राविधिक महासेनानी प्रोफेसर डा. कुमार रोकाले जानकारी दिए।
सैनिक अस्पतालले विशेष गरी नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक तथा उनीहरूको परिवारलाई मात्र सीमित स्वास्थ्य सेवा प्रदान गर्दै आएको भए पनि पछिल्लो समय सामान्य जनतालाई लक्षित गरी प्रभावकारी स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको छ ।
सर्वसाधारणको बढी बसोबास भएको क्षेत्रहरूमा सेनाका जिल्ला स्तरीय युनिट परिचालन गरी स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ। यस क्रममा विभिन्न विशेषज्ञ सेवासँगै आवश्यक औषधिहरू निःशुल्क उपलब्ध गराइने गरिएको छ।
सैनिक अस्पतालले यस्ता शिविरमार्फत उपचार र औषधि वितरण मात्र नभई स्थानीयलाई स्वास्थ्यसम्बन्धी परामर्श, दीर्घ रोग व्यवस्थापन, स्वच्छता अभिवृद्धि र निवारक उपायसम्बन्धी सचेतना समेत प्रदान गर्दै आएको छ।
प्रतिक्रिया