इटहरी । सगरमाथा लोकमार्गअन्तर्गत खोटाङ–गाईघाट–दिक्तेल खण्डको निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन् ।
आइतबार उनीहरुले उक्त मार्गमा यातायात अवरुद्ध पारेका छन् ।
निर्माण कम्पनीको लापर्बाहीका कारण सडक निर्माणको काम अलपत्र परेको भन्दै संलग्नलाई कारबाही गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।
उनीहरुले दबावमूलक आन्दोलन गर्दै महुरेगढी भन्ने स्थानमा यातायात अवरुद्ध पारेका हुन् ।
सिम्पानी–महुरे सडकखण्डको काम अलपत्र पार्ने भरत कन्ट्रक्सन, सिद्दि शाही जेभी र फोक्सिङटार–सिम्पानी कालोपत्रेको काम ठेक्का लिने देवनारायण पवन–मैनाचुली–खाम्पाचे निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने माग स्थानीय बासिन्दाको छ ।
सिम्पानी–महुरे सडकखण्डको काम अलपत्र पार्ने भरत कन्स्ट्रक्सन–सिद्धि शाही जेभीले २०७७ असार २९ गतेभित्र सक्ने गरी २०७३ असार ३० गने सम्झौता गरेको थियो ।
करिब ४१ करोड ५० लाख रुपैयाँको लागतमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेसम्मको २३ किलोमिटर सडक निर्माणको ठेक्का लिएको हो ।
करिब ५० प्रतिशत मात्र सम्पन्न भएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ ।
फोक्सिङटार–सिम्पानी कालोपत्रेको काम पनि अलपत्र छ । निर्माणमा संलग्न देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले उक्त सडक खण्डको २६ किलोमिटर लोपत्रेका लागि करिब ५५ करोड ८७ लाख रुपैयाँको लागतमा २०७७ साउन १० गतेभित्र सक्ने गरी २०७३ साउन ११ गते सम्झौता गरेको थियो ।
काम भने अघि बढ्न नसकेको प्रदेशसभा सदस्य पाँचकर्ण राईले बताए । यो सडक बनाउन सुरु भएको २७ वर्षमा पनि पूरा हुन नसकेको उनको भनाइ छ ।
फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकको काम अलपत्र पारेपछि गत पुस ८ गते ठेक्का तोडेर कालो सूचीमा राएिको थियो ।
माघ ४ गते निर्माणमा संलग्नहरुले उच्च अदालत पाटनमा निवेदन दिएपछि ठेक्का नतोड्न अन्तरिम आदेश जारी भएको थियो ।
प्रतिक्रिया