बिर्तामोडमा नागरिक अस्पताल वैशाखदेखि सञ्चालनमा आउने

शनिबार, २६ पुस २०८२

झापा : सर्वसाधारण नागरिकको पहुँचमा सुलभ, गुणस्तरीय र भरोसायोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित बिर्तामोडमा ‘नागरिक अस्पताल’ सञ्चालनमा आउने भएको छ । आगामी वैशाखदेखि सेवा सुरु गर्ने तयारीसहित अस्पताल सञ्चालक नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडले जनाएको हो । 

नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडको ५औँ वार्षिक साधारणसभाका अवसरमा आगामी बैशाख महिना देखि नागरिक अस्पताल सञ्चालनमा ल्याइने जनाइयो । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ हर्कलाल रोडमा निर्माणाधीन नागरिक अस्पताल सहकारी मोडलमा सञ्चालन हुन लागेको संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए । उनले न्युन शुल्कमा गुणस्तरिय सेवा प्रदान गरिने समेत वताए । 

साधारणसभामा अस्पताल सञ्चालनको तयारी तीव्र पारिएको जनाउदै अस्पताल सञ्चालनका लागि ११ कठ्ठा जमिन २५ वर्षका लागि भाडामा लिइएको र सो स्थानमा अस्पताल भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको कार्यकारी प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार हालसम्म भवन निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

साधारणसभामा प्रस्तुत विवरणअनुसार हालसम्म नागरिक स्वास्थ्य सहकारी संस्थामा ३०० भन्दा बढी सेयर सदस्य आबद्ध भइसकेका छन् । सहकारीको सहभागितामूलक मोडलमार्फत अस्पताल सञ्चालन गर्दा सेवाग्राहीलाई सस्तो दरमा उपचार उपलब्ध गराउन सहज हुने विश्वास लिइएको सो अवसरमा जनाइयो ।

संस्थाका सदस्य कृष्ण बजगाईंले नागरिक अस्पतालले बिरामीको आर्थिक अवस्थालाई विशेष ध्यानमा राखी सुलभ दरमा उपचार सेवा दिने लक्ष्य राखेको बताए । अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराइने र नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गर्ने तयारी रहेको संस्थाका कोषाध्यक्ष जीवन खड्काले जानकारी दिए ।

संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा सम्पन्न साधारणसभामा मोरङ सहकारी अस्पतालका कार्यकारी प्रमुख विकास अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार