विराटनगर : लागुपदार्थ ब्राउन सुगर सहित प्रहरीले तीन जना भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १७ ब्राउन सुगर सहित ती भारतीय नागरिकहरुलाई पक्राउ गरिएको जनाइएको हो ।
शनिवार भारतीय नम्बर प्लेट बीआर ३८ एपी ९०४९ को मोटरसाइकलमा सवार भारत बिहार राज्यको अररिया जिल्ला खैराखगरा–४ का राजकुमार साह, सेठू कुमार र रोशन कुमारलाई शंकाका आधारमा रोकेर जाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार मोटरसाइकलको पछाडि सवार राजकुमारको साथबाट १०४ ग्राम ब्राउन सुगर बरामद भएको छ । उक्त लागुऔषध ‘देभगन्ध’ लेखिएको धूपको बट्टाभित्र लुकाइ राखिएको अवस्थामा भेटिएको थियो ।
बरामद लागुऔषध र मोटरसाइकलसहित तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ । उनीहरू नेपालमा लागुऔषध आपूर्ति गर्न आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भई रहेको समेत प्रहरीले जनाएको छ ।
प्रतिक्रिया