आँबुखैरेनीमा हल गोरु पालनपोषण प्रोत्साहन कार्यक्रम

शनिबार, २६ पुस २०८२
फाइल फोटो

दमौली : किसानलाई प्रोत्साहनका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पालनपोषण कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पालनपोषण प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

 

इच्छुक पशुपालक कृषकबाट प्रस्ताव आह्वानका लागि सूचना प्रकाशित गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्मिला अधिकारीले बताइन । प्रमुख प्रशासकीय अधिकृत अधिकारीका  अनुसार यस कार्यक्रमका लागि पाँच लाख रुपैया बजेट विनियोजन गरिएको छ । यस कार्यक्रमबाट गोरु पाल्ने कृषक लाभान्वित हुने उनको भनाई रहेको थियो ।

 

हलगोरु पालनपोषण प्रोत्साहन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ अनुसार सञ्चालन गरिने अधिकारीले उल्लेख गरिन । पालिकाले निवेदन, हलगोरुको ट्याग नम्बरसहितको विवरण, नेपाली नागरिकता तथा जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, बैंक खाता नम्बर, कम्तीमा दुई वर्षदेखि हल गोरु पालन तथा आफ्नै खेत जोत्ने कार्यमा संलग्न रहेको प्रतिबद्धता पत्र, निवेदक र हल गोरु संयुक्त रूपमा देखिने फोटो तथा सम्बन्धित वडा कार्यालयको सिफारिस आह्वान गरेको छ । 

 

हलगोरु केवल खेतीको साधन मात्र नभई ग्रामीण जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएको सम्पदा समेत हो अधिकारीले भनिन । यस कार्यक्रमले गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्नाका साथै माटोमैत्री र वातावरणमैत्री खेती प्रणालीलाई बल पुग्ने अपेक्षा गरिएको छ । 

 

पहाडी भौगोलिक बनावट, साना टुक्रामा विभाजित खेतबारी र वातावरणीय सन्तुलनका दृष्टिले हलगोरु अझै प्रभावकारी माध्यम मानिन्छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार