ऐलानी जग्गा खाली गराउन जाँदा धनुषामा झडप, अश्रुग्यास प्रहार, १२ जना घाइते

शनिबार, २६ पुस २०८२

जनकपुर : धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना घाइते भएका छन् ।

जिल्लाको मिथिला नगरपालिका–२ नक्टाझिज सुखजोरमा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको भन्दै जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका प्रतिनिधिबीच झडप हुँदा १२ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरका अनुसार झडपमा घाइते भएका सबैलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएको छ । स्थानीय सुनिल परियार, विक्रम परियारसहित अधिकांशको टाउकोमा चोट लागेको उनले बताए ।

स्थानीय प्रदर्शनकारीले आश्रमबाट निस्केको एम्बुलेन्समाथि तोडफोड गरेपछि सम्भावित दुर्घटना हुन नदिन र अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्याँससमेत प्रहार गरेको प्रहरी प्रमुख कुँवरले बताए ।

यसैबिच दुई पक्षबीच भएको झडपका कारण अवरुद्ध बनेको ढल्केवर–जनकपुर सडकखण्डलाई प्रहरीको सक्रियतामा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा खटिएको टोलीले जग्गा तथा आश्रमको वास्तविकताबारे अध्ययन गरिरहेको छ ।  उनका अनुसार विवाद उग्र बन्दा दुवै पक्षबीच ढुङ्गा हानाहानको स्थिति पैदा भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार