डडेल्धुरा: डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको परशुराम नगरपालिका–९ कुयापानीमा शनिबार साँझ उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक परशुराम नगरपालिका–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो । तर, चिकित्सकले उपचारका क्रममा दुवै जनालाई मृत घोषणा गरेका हुन् । जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा संलग्न परशुराम नगरपालिका निवासी ३२ वर्षीय ट्र्याक्टर चालक सुरेश भट्ट घटनापछि फरार भएका छन् । चालक भट्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया