विराटनगर : कोशी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा एकल उमेदवारी परेका अन्य समूह तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्य समुहमा कोशीबाट कसैको पनि उम्मेवारी नपरेका कारण काँग्रेस उम्मेदवार थापा र्निविरोध भएका हुन।्
राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट अन्य तर्फ नेकपाको तर्पबाट हेमराज घिमिरे उम्मेदवार बन्ने चर्चा भएपनि उनको उम्मेदवारी परेको थिएन । निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आइतबार थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको छ । अन्य समूह तर्फ रिक्त एक सदस्य पदका लागि थापाको मात्र उम्मेदवारी कायम भएपछि निर्विरोध घोषणा गरिएको निर्वाचन कार्यालयले जनाएको हो । निर्वाचन कार्यालयले सूचना जारी गर्दै भनेको छ एक जना मात्र उम्मेदवार कायम हुन आएकाले देहायका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्दछ ।
कोशीमा महिला तर्फ कांग्रेस एमाले गठबन्धनबाट रोशनी मेचे र नेकपाबाट नमिता न्यौपाने उम्मेदवार रहेका छन् । दलित तर्फ कांग्रेस एमाले गठबन्धनबाट सोम पोर्तेल र नेकपाबार्ट खेमराज सुन्दास उम्मेदवार रहेका छन् ।
राष्ट्रियसभाको रिक्त १८ पदका लागि देशभर माघ ११ गते निर्वाचन हुँदैछ । तीमध्ये कोशी प्रदेशबाट ३ जना निर्वाचित हुनेछन् । अन्य समूहमा सुनिलबहादुर थापा निर्विरोध भईसकेका छन भने दलित र महिला समूहमा भने कांग्रेस–एमाले गठबन्धन र नेकपाबीच प्रतिस्पर्धा हुनेछ ।
कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कुल ३ सय ६७ मतदाता छन् । ९३ प्रदेशसभा सदस्यको मतभार ५३ र २ सय ७४ स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ तोकिएको छ ।
प्रदेश र स्थानीय तह मिलाएर एमालेको ४ हजार २ सय १०, कांग्रेसको ३ हजार ६ सय ८४ र माओवादी केन्द्र तथा एकीकृत समाजवादीसहितको नेकपाको १ हजार ६ सय ४२ मतभार छ ।
कांग्रेस–एमाले गठबन्धनको कुल मतभार ७ हजार ८ सय ९४ पुग्छ । यही गठबन्धनमा रहेको जसपाको १ सय २९ मतभार छ भने राप्रपाको ३ सय ९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।
प्रतिक्रिया