आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

सोमबार, १८ बैशाख २०८०
काठमाडाै । आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस । सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान भन्ने नाराका साथ मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको शिकागोमा  ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो । विश्वका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको थियो । आज सार्वजनिक बिदा दिइएको  छ । यसैबीच, नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरले न्यूनतम पारिश्रमिक पाउने अवस्थामा सुधार भएको भए पनि त्यो पर्याप्त नभएको जनाएको छ । श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थासम्बन्धी श्रम अडिट प्रतिवेदन २०७९ सार्वजनिक गर्दै जिफन्टले अझै १५ दशमलव ३० प्रतिशत मजदुरले न्यूनतम पारिश्रमिक नपाएका जनाएको छ । यस्तै, वार्षिक पारिश्रमिक वृद्धि (ग्रेड वृद्धि) गर्ने प्रतिष्ठान बढ्नुको साटो घट्दै गएको प्रतिवेदनले देखाएको छ । श्रमिकहरुले  प्राप्त ज्यालाले जीवन धान्न नै मुस्किल पर्ने गरेको बताउँदै आएका छन्  । सरकारले श्रमिकको हकहितका लागि भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको छ । तर, यो कार्यक्रममा अझै पनि धेरै श्रमिक समेटिन बाँकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार