बंशिलाघाटमा बन्दै छ बेलिब्रिज, कहिले होला पुरा ?

बुधबार, १४ माघ २०८२

उदयपुर : उदयपुर र खोटाङ जिल्लालाई जोड्ने बंशिलाघाटस्थित सुनकोसी नदीमा निर्माणाधीन मोटरेवल पक्की पुल तोकिएको समयमा सम्पन्न हुन नसकेपछि वैकल्पिक रूपमा निर्माण थालिएको अस्थायी बेलिब्रिज धमाधम निर्माण भइरहेको छ ।

पुस मसान्तदेखि माघको पहिलो हप्ताभित्र बेलिब्रिज निर्माण सम्पन्न गरी आवतजावत खुलाउने योजना भए पनि हालसम्म ग्याबिन निर्माण सम्पन्न गरी स्टिल स्ट्रक्चरको काम करिब ३५ प्रतिशत मात्र सकिएको निर्माण कम्पनीले जनाएको छ । बाँकी काम पूरा गरी पुल सञ्चालनमा आउन अझै १० देखि १२ दिन लाग्ने अनुमान गरिएको छ ।

स्टिल वर्कतर्फका प्राविधिक मनोज चौधरीका अनुसार प्राविधिक जटिलता तथा ग्याबिन भर्ने कार्यमा ढिलाइ हुँदा निर्माण कार्यमा प्रभावित भइरहेको छ । 

करिब ५२ मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त बेलिब्रिजको अनुमानित लागत ९४ लाख रुपैयाँ भए पनि सम्झौताअनुसार भ्याटसहित ५७ लाख रुपैयाँमा पुल निर्माण र बर्षामा पुल निकाल्ने गरि गुरुकुल बिल्डर्स एण्ड सप्लायर्स, हेटौंडाले कामको जिम्मा लिएको छ ।

गत २६ मंसिरमा एक महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । तर, ग्याबिन निर्माणमै ढिलाइ हुँदा तोकिएको समयमा पुल सञ्चालनमा ल्याउन नसकिएको निर्माण कम्पनीका इन्जिनियर खेमराज विश्वकर्माले जानकारी दिए ।

वर्षायाम सुरु हुनुअघि जेठ १५ भित्र अस्थायी बेलिब्रिज खोलिसक्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

पुल समयमै नबन्दा उदयपुर र खोटाङका स्थानीय बासिन्दाले दैनिक आवतजावतमा ठूलो सास्ती भोग्नुपरेको छ । पक्की पुल र अस्थायी बेलिब्रिज दुवैमा ढिलाइ हुँदा स्थानीयमा असन्तोष बढ्दै गएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की, तत्कालीन भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राई तथा स्थानीय तहको विशेष पहलमा बेलिब्रिज जडान भइरहेको हो । 
 

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार