काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको घटनामा आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले यस्ता प्रचारलाई निराधार, भ्रामक र तथ्यहीन भएको बताएका छन्।
एक सार्वजनिक वक्तव्य जारी गर्दै ओलीले नेपालको संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गरे। “मैले कहिल्यै यस्तो आदेश दिएको छैन, न दिन सक्छु, न सोच्न सक्छु,” ओलीले भनेका छन्।
भदौ २३ गतेको दुःखद घटनामा ज्यान गुमाएका १९ जना नानीबाबुप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले उक्त पीडाले आफूलाई आजसम्म पनि मर्माहत बनाइरहेको बताए। घटनालगत्तै पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको पनि उनले स्मरण गराए।
ओलीका अनुसार, घुसपैठको सम्भावना देखिएपछि सरकारले सुरुमा माइतीघरमा प्रदर्शन रोक्ने निर्णय गरेको थियो। तर शान्तिपूर्ण सभाका लागि युवाहरूले अनुमति मागेपछि प्रशासनले सहजै अनुमति दिएको उनले बताए। माइतीघरमा बिहान सुरु भएको जेनजी प्रदर्शन शान्तिपूर्ण रहेको र त्यहाँ न गोली चलेको, न लाठी प्रहार भएको उनको दाबी छ।
उनले करिब दिउँसो १२ बजेतिर घुसपैठ गर्ने तत्वहरूले युवाहरूलाई निषेधित क्षेत्रतर्फ लैजान थालेको दृश्य सबैले देखेको दाबी गरे। आयोजकहरूले पटक–पटक घुसपैठ भएको भन्दै घर फर्किन आग्रह गरे पनि योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनतर्फ धकेलेको ओलीको आरोप छ।
संसद् भवनअगाडि आगजनीको प्रयास र विस्फोटक सामग्री प्रयोग भएपछि कानुनी रूपमा उक्त अवस्था ‘आन्दोलन’ नभई ‘राज्यविरुद्धको हमला’ भएको ओलीले बताएका छन्। संसद् भवनभित्र सुरक्षाकर्मीमाथि प्रत्यक्ष आक्रमण भएपछि मात्र गोली चलेको र त्यसपछिका दुई घण्टाका घटनाले देशलाई कहिल्यै नमेटिने घाउ दिएको उनले उल्लेख गरे।
यदि त्यस दिन सुरक्षाकर्मीले हतियार खोसिन दिएको भए वा संसद् भवन जलेको भए झनै ठूलो मानवीय क्षति हुने सक्ने ओलीको तर्क छ। भदौ २४ गते, आफूले राजीनामा दिएपछि सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायत संरचनामा भएको विध्वंशले अराजकता फैलाउने उद्देश्य स्पष्ट भएको उनले दाबी गरे।
ओलीले विश्वका सबै देशमा प्रमुख संवैधानिक अंगको सुरक्षाका लागि सुरक्षाकर्मीहरू हतियारसहित चौबीसै घण्टा कम्ब्याट पोजिसनमा रहने उल्लेख गर्दै त्यस दिन पनि सरकारको आदेशमा होइन, कानुनअनुसार गोली चलेको बताए।
“माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा कुनै बल प्रयोग भएन, वानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म पनि गोली चलेन,” ओलीले स्पष्ट पारे।
प्रतिक्रिया