आज स्वस्थानी व्रत कथा समापन गरिँदै

आइतबार, १८ माघ २०८२

काठमाडौँ : माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिँदैछ।

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक सम्पन्न गर्न लागिएको हो। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्।

यस अवधिमा स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्य मा वर्णित कुमार र अगस्त्यबीचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आजकै दिन अन्त्य गरिन्छ।

विधिपूर्वक एकमहिने व्रत गरेका व्रतालुले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र तथा भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य अर्पण गर्ने विधि छ। चढाइएका प्रसादमध्ये प्रत्येक वस्तुबाट आठ–आठ अंश पतिलाई, पति नभए छोरालाई, छोरा पनि नभए मितछोरालाई दिने र ती पनि नभए नजिकको पवित्र नदीमा लगेर विसर्जन गर्ने परम्परा रहेको छ।

व्रतालुले सय रोटी फलाहारका रूपमा ग्रहण गरी रातभर जाग्राम बस्ने र यस क्रममा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसो गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।

‘स्वस्थानी’ शब्दको शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछि ध्यान र योग साधनाका लागि समय अनुकूल हुने भएकाले आफ्नो आत्मासँग सम्पर्क साधनाको अभ्यासलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय उत्तम मानिन्छ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रामा कमलसहित सिंहासनमा विराजमान चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ। व्रतकथाअनुसार देवीका चार हातमध्ये एक हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा रहेको उल्लेख छ।

विधिपूर्वक स्वस्थानी व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याधि निको हुने तथा पति वा पत्नीका रूपमा इच्छाएको व्यक्ति प्राप्त हुने जनविश्वास रहेको छ। सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति प्राप्त गर्न विष्णुको निर्देशनअनुसार स्वस्थानी व्रत गरेको कथा पनि व्रतमा उल्लेख गरिएको छ। व्रतकै प्रभावले बिछोडमा परेका नाग–नागिनीको पुनर्मिलन भएको कथा पनि प्रचलित छ।

साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा सांस्कृतिक विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार पूजा गर्दा पुत्रवियोगबाट मुक्ति पाएको र व्रतकै प्रभावले उनका छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) का राजा बनेको कथासमेत स्वस्थानी व्रत कथामा वर्णन गरिएको छ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज मध्याह्नकालपछि विधिपूर्वक पूजा गरी व्रत समापन गरिन्छ। त्यसपछि रात्रिमा जाग्राम बसी बिहीबार बिहान फूलपाती नदीमा विसर्जन गरेपछि यस वर्षको स्वस्थानी व्रत पूर्ण रूपमा सम्पन्न हुन्छ।

यसैबीच, उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञसहित समापन गरिँदैछ। शालिनदी क्षेत्रमा करिब १६२ महिला र १५ पुरुषले एक महिना लामो कठोर माधवनारायण व्रत गरेका छन्। माघ शुक्ल पूर्णिमालाई नेवार समुदायले ‘सि पुन्हि’का रूपमा मनाउने परम्परा रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार