पुरुषसँग महिलाको चुनावी पौँठेजोरी

आइतबार, १८ माघ २०८२

काठमाडौँ : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। यसै सन्दर्भमा विभिन्न निर्वाचन क्षेत्रमा प्रभावशाली पुरुष उम्मेदवारसँग महिला उम्मेदवारबीचको प्रतिस्पर्धा चर्किंदै गएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस्ता क्षेत्रमा महिला उम्मेदवारले थप चुनौती सामना गर्नुपर्ने अवस्था देखिएको छ। कतिपय महिला उम्मेदवारले आफ्नै दलबाट अपेक्षित सहयोग र समर्थन नपाएको गुनासो पनि गरेका छन्।

कोशी प्रदेशको झापा क्षेत्र नम्बर ५ लाई यस पटकको सर्वाधिक चर्चित निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ। यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहबीच कडा प्रतिस्पर्धा देखिएको छ। यही प्रतिस्पर्धात्मक वातावरणमा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाको चुनावी अभियान पनि अघि बढिरहेको छ।

विश्लेषकहरूका अनुसार दुई ठूला दलका पुरुष उम्मेदवारबीचको प्रतिष्पर्धाले अन्य उम्मेदवारको प्रचारमा असर पर्न सक्ने देखिन्छ।यस क्षेत्रमा नेपाली कांग्रेसका साथै नेकपाका रञ्जित तामाङ, शोभा भण्डारी र अन्य स्वतन्त्र उम्मेदवारहरू समेत प्रतिस्पर्धामा छन्।

चितवन क्षेत्र नम्बर २ मा पनि महिला उम्मेदवार र प्रभावशाली पुरुष नेताबीचको प्रतिस्पर्धा चर्चामा छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उम्मेदवार रहेका छन् भने नेकपा र एमालेबाट पनि पुरुष उम्मेदवारहरू चुनावी मैदानमा छन्।

नेपाली कांग्रेसले पहिलो पटक यस क्षेत्रमा महिला उम्मेदवार मीना खरेललाई अघि सारेको छ। खरेलले आफू लामो समयदेखि सोही क्षेत्रमा सक्रिय रहेको र जनसम्पर्कका आधारमा प्रतिस्पर्धामा टिक्न सक्ने दाबी गरेकी छन्। उहाँले महिलालाई जित सुनिश्चित हुने क्षेत्रमा निरन्तर अवसर दिनुपर्ने धारणा पनि राखेकी छन्।

चितवन क्षेत्र नम्बर ३ मा चार प्रमुख उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ। यस क्षेत्रमा नेकपाकी रेणु दाहाल, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र एमालेका शंकरराज थपलिया उम्मेदवार छन्।

स्थानीय राजनीतिक गतिविधिमा लामो समय सक्रिय रहेकी दाहालले निष्पक्ष वातावरणमा निर्वाचन भए परिणाम आफ्नो पक्षमा आउने दाबी गरेकी छन्। उता रास्वपाकी उम्मेदवार सोविता गौतमले जनताको भविष्यका लागि वैकल्पिक राजनीतिक धार आवश्यक रहेको बताउँदै चुनावी अभियान अघि बढाइरहेकी छन्।

यसैगरी एमालेकी भगवती चौधरी, जुलीकुमारी महतो, जसपाकी मीनाक्षी ठाकुर, नेकपाकी मेनका भण्डारी, धर्मशीला चापागाईं, रास्वपाकी इन्दिरा रानामगर, तोसिमा कार्की, रञ्जु न्यौपाने तथा कांग्रेसकी कुसुमदेवी थापा पनि विभिन्न निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवारसँग प्रतिस्पर्धामा छन्। तर उनीहरूलाई सघाउन पार्टीका शीर्ष नेताहरू सक्रिय रूपमा नपुगेको गुनासो सुनिन्छ।

सामाजिक संरचना अझै चुनौती

नेपालमा महिलाले २०१० सालदेखि मतदान अधिकार प्रयोग गर्दै आएका छन् र सोही समयदेखि निर्वाचनमा सहभागिता जनाउँदै आएका छन्। तर प्रत्यक्ष चुनावी प्रतिस्पर्धा महिलाका लागि अझै सहज बन्न नसकेको विज्ञहरू बताउँछन्।

मनोसामाजिकविद् पदम जोशीका अनुसार सामाजिक–सांस्कृतिक संरचना र प्रविधिको प्रयोगले महिला उम्मेदवारलाई थप चुनौती सिर्जना गरेको छ। उहाँका अनुसार अन्तर्राष्ट्रिय अध्ययनहरूले समेत महिला उम्मेदवारका लागि निर्वाचन प्रक्रिया सहज नभएको देखाएका छन्, र नेपालको सन्दर्भ अझ जटिल छ।
महिलाको पारिवारिक भूमिका, सीमित स्रोतसाधन, सामाजिक दबाब तथा प्रचारका क्रममा हुने मानसिक चुनौतीले महिला उम्मेदवारलाई प्रभाव पार्ने गरेको जोशीको भनाइ छ। साथै, चुनावी प्रतिस्पर्धाका क्रममा व्यक्तिगत तथा सामाजिक विषय उठाइँदा थप दबाब सिर्जना हुने देखिन्छ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार