झापा गोल्ड कपको सम्पूर्ण तयारी पूरा

शुक्रबार, २३ माघ २०८२

झापा : झापा गोल्ड कपको सातौँ संस्करण भोलि माघ २४ गतेदेखि सुरु हुँदैछ । माघ २४ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

शुक्रबार डोमालाल राजवंशी रंगशालामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता तय समयमै सुरु हुने जानकारी गराइएको हो । झापा गोल्ड कपका अध्यक्ष केदार गिरीका अनुसार, प्रतियोगिता पूर्व अध्यक्ष विनोद वस्नेतको स्मृतिमा आयोजना गरिएको हो । यस वर्ष पनि प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित क्लबहरूको सहभागिता रहनेछ ।

झापा गोल्ड कपमा नेपालका ‘ए’ डिभिजन क्लबहरूसँगै भारत, भुटान र मलेसियाका क्लबहरूले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका तर्फबाट झापा–११ घरेलु टिमका रूपमा मैदानमा उत्रनेछ । अन्य सहभागी क्लबमा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, नालीगुराँस एसोसिएसन नेपाल ९पोखरा०, रोयल थिम्पु कलेज (भुटान), सिङ्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ फुटबल क्लब ९मलेसिया० रहेका छन् ।

बिर्तामोड नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ । अन्तर्राष्ट्रिय झापाली समाज, किंग्सबेरी इन्टरटेनमेन्ट र मेची आँखा अस्पताल मुख्य सह–प्रायोजक रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एकथान यामाहा मोटरसाइकल प्रदान गरिनेछ । त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टिमले गरेको आयोजकले जनाएको छ ।

दर्शकमाझ लोकप्रिय झापा गोल्ड कप यस वर्ष ‘गोल नेपाल’ मार्फत प्रत्यक्ष प्रसारण हुनेछ । प्रतियोगितालाई सुरक्षित, अनुशासित र भव्य रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला संस्था, प्रायोजक तथा स्वयंसेवकसँग आवश्यक समन्वय भइसकेको आयोजकको दाबी छ ।

सातौँ संस्करणको उद्घाटनका दिन रंगशाला परिसरमा स्वर्गीय डोमालाल राजवंशीको शालिक अस्थायी रूपमा अनावरण गरिनेछ । साथै, झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिनेछ । रंगशालाका जन्मदाता डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरिने कार्यक्रम पनि उद्घाटनकै दिन तय गरिएको छ ।

त्यसैगरी, हिम इलेक्ट्रोनिक प्रालिको तर्फबाट बिर्तामोडस्थित महेन्द्ररत्न स्टोर्समार्फत प्रत्येक दिन टिकट काट्ने एक जना दर्शकलाई ३२ इन्चको एलईडी टिभी प्रदान गरिनेछ । मोबाइल ग्यालेरी बिर्तामोडको तर्फबाट दैनिक दुई जना दर्शकलाई एअरबड उपलब्ध गराइने र प्रतियोगिताभर टिकट काट्ने दर्शकमध्ये एक जनालाई फाइनल खेलका दिन यामाहा स्कुटर प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । फुटबलमार्फत झापालाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको झापा गोल्ड कपले स्थानीय खेलाडी उत्पादन, खेल पर्यटन प्रवर्द्धन र खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा झापा गोल्ड कपका पूर्व अध्यक्ष महेन्द्रकुमार गिरीलगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार