बुढासुब्बा गोल्डकप: भुटानविरुद्ध झापा ११ विजयी, क्वाटरफाइनलमा प्रवेश

शुक्रबार, २३ माघ २०८२

धरान : २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिन सम्पन्न खेलमा झापा ११, झापा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार धरान रङ्गशालामा सम्पन्न खेलमा झापा ११ ले रोयल थिम्पु फुटबल क्लब, भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो।

खेलको पहिलो हाफको ३५औँ मिनेटमा झापा ११ का सुनिल खड्काले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १८औँ मिनेटमा राजेश दाहालले अर्को गोल थपेपछि झापाको जित सुनिश्चित भयो।

झापा ११ का राजेश दाहाल खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

प्रतियोगिताअन्तर्गत शनिबार प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौं र साविक विजेता न्युरोड टिम (एनआरटी), काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार