काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा उनले सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुन नसक्ने दाबी गरे ।
स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हैसिएर बजेट बनाउने सुविधा नभएको उनको भनाइ छ ।
‘अर्थतन्त्रमा देखिएका समस्या र चुनौती रहेको अवस्थामा लोकप्रिय नभएर यथार्थपरक बजेट मुलुकलाई आवश्यकता रहेको छ,’ उनले भने ।
उनले अर्थमन्त्री प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने, बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सवल बनाउने विषयको समर्थन गरे ।
‘सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुँदैन । आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित रहनुपर्छ । स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हौसिएर बजेट बनाउने सुविधा छैन । अहिलेको अवस्थामा पपुलिस्ट होइन । यथार्थपरक बजेट मुलुकलाई आवश्यकता छ,’ सांसद कार्कीले भने, ‘यो पृष्ठभूमिमा सरकारका तर्फबाट अर्थमन्त्री प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने, बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सबल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । त्यसको स्वागत गर्न चाहन्छु । समर्थन गर्न चाहन्छु ।’
उनले नेपाल विकासको फड्को मार्ने सम्भावना भएको मुलुक भए पनि सरकारले सोअनुसार अगाडि बढाउन नसकेको दाबी गरे ।
२०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय सरकार स्थापना हुँदै गर्दा प्रतिव्यक्ति १८० डलर नेपालीको आय सन् २०२१ सम्ममा त्यो १२ सय डलर पुगेको भन्दै यो गति सुस्त भएको कार्कीले जनाए ।
प्रतिक्रिया