उद्योगको आगो १२ घण्टापछि पुरै निभाइयो

शुक्रबार, २९ बैशाख २०८०
विराटनगर । मोरङको एउटा उद्योगमा लागेको आगो १२ घण्टापछि पुरै निभाइएको छ । बिजुलीको बल्ब र स्वीच उत्पादन गर्दै आएको उद्योगी राजेन्द्रकुमार राठीको बूढीगंगा गाउँपालिका–५ को राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिजमा शुक्रबार बिहान आगलागी सुरु भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले उद्योगमा लागेको आगोले २० करोड बराबरको क्षति भएको जानकारी दिए । आगो निभाउन १२ वटा दमकलसहित ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । घटनास्थलमा पुगेका नेपाल प्रहरीका निरीक्षक दुर्गा राई र सशस्त्रका निरीक्षक समराज खड्का नेतृत्वको टोलीलाई आगो पूर्ण रूपमा नियन्त्रणमा लिन १२ घण्टाभन्दा बढी समय लागेको थियो । स्थानीय बासिन्दा र उद्योगका मजदुर पनि आगो निभाउन सक्रिय भएर लागेका थिए । बिजुली सर्ट भएर आगलागी भएको अनुमान छ । उद्योगका ३ वटा भवनमध्ये एउटामा आगो लागेको हो । दुईवटा भवन भने जोगाइएको थियो । आगोले उद्योगको एउटा भवनसहित कच्चा पदार्थ, मेसिन तथा तयारी सामान पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार