काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले दीगो विकासको लक्ष्य हाँसिल गर्न पर्याप्त वित्तीय लगानी गरी पूर्वाधारको खाडल पुर्नुपर्ने, जलवायु परिवर्तनका चुनौतिहरूलाई सम्बोधन गर्नुपर्ने एवम् समावेशी, फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्नुपर्ने बताएका छन् ।
उनले देशमा लगानी योग्य कोषको प्रवाह कसरी बढाउने भन्नेमा समन्वय र व्यवस्थित छलफल आवश्यक रहेको बताए ।
लगानी बोर्ड नेपालको आयोजनामा नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘हाम्रो मासिक रेमिटेन्स प्रवाह करिब ८० अर्ब र विदेशी विनिमय सञ्चिति १० दशमलव ९ अर्ब डलर रहेकोमा उक्त रकमबाट ९ महिना भन्दा बढीको व्यापारिक वस्तु र सेवा आयात गर्न पर्याप्त छ ।
उनले भने, ‘हामी डब्लुटीओ का सदस्य हौं । हामीले तीन दशकभन्दा बढी समयदेखि उदार आर्थिक नीतिहरू अपनाएका छौं । हाम्रो मुद्रा भारतीय रुपैयाँसँग स्थिर गरिएको छ तर बाँकी परिवर्तनीय मुद्राहरूको विनिमय दर बजारले निर्धारण गर्छ । नेपालले स्थायित्व र लचिलोपनमा पर्याप्त ध्यान दिएर आफ्नो बृहत् अर्थतन्त्रको व्यवस्थापन गरिरहेको छ।’
‘हामीसँग भएका स्रोतसाधनको अधिकतम उपयोग गर्नु हाम्रो चुनौती हो। अहिले हामीले यो शक्तिलाई पूर्ण रूपमा पुँजीकरण गर्न सकेका छैनौं’ मन्त्री डा. महतले भने, ‘हामीसँग ३० लाखभन्दा बढी वैदेशिक रोजगारीमा रहेका आप्रवासी कामदारहरू छन्, यसले कुनै न कुनै रूपमा रेमिट्यान्सको रूपमा हाम्रो अर्थतन्त्रलाई टेवा पुर्याइरहेको छ जसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न पनि पर्याप्त रूपमा प्रयोग गर्न सकेका छैनौं ।’
प्रतिक्रिया