सेमन्त उपाध्याय
जब आमाको बर्को पुरानो हुन्छ
सारीले लाज ढाक्न छोड्छ
चौबन्दीको भित्री धुजा धुजा हुन्छ
जब सिरक खोलभित्र पस्न मान्दैन
मेरी आमा निश्चित गर्नु हुन्थ्यो
यसलाई थाङना मोर्नु पर्ने
हो त्यही थाङनामा हुर्किएको म
बर्कोले आमाको आँशु लुकायो
चौबन्दीले पसिना
सारीको नरमपना
सिरकको खोलले बाको संघर्ष
हो त्यही सुँघ्दै
त्यही अँगाल्दै
थाङनामा हुर्किएको म
झिँगा मेरा साथी हुन्थे
कोक्राको चइँचुइँ संगीत
दलिनहरु सहारा बन्थे
दिसा, पिसाब
मेरा खेलौना थिए
जो बल फ्याँके जसरी बाहिर फ्याँकिन्थे
हो त्यही थाङनामा हुर्किएको म
गनगन गर्दै लिटो खुवाएर
लोहोरी सुनाउँदै सुताएर
मेरी आमा
मेलापात र दाउराघाँसमा जानु हुन्थ्यो
तन जहाँ छ मन ममाथि खन्याएर
काम सकिने प्रतीक्षामा
खै कुन धैर्यले टिकेकी हुन्
सबै बाध्यताको पीडा
छातीमा राखेर, मलाई च्याप्थिन्
आफू अश्रुधारा पिएर मलाई दूध चुसाउँथिन्
थाङना फेर्दिन्थिन्
हो म त्यही थाङनामा हुर्किएको
म चौथो सन्तान
आमा बाको कान्छो सन्तान
थाङनामा पुस्तान्तरण मेरी आमालाई थाहा छ
त्यहाँ मेरा दादा दिदी सबैको मिश्रण छ
दिसाको, पिसाबको, पसिनाको, मयलको
मायाको, स्नेहको
आमाको पसिनाको
बाको मयलको
दिदीको स्नेहको
दादाहरुको त्याग
सबै सबैको स्मृति
त्यही थाङनामा थियो
हो म त्यही थाङनामा हुर्किएको
–इटहरी–५ सुनसरी
प्रतिक्रिया