काठमाडौँ : राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिने भएको छ । मस्र्याङ्दी वाङमय प्रतिष्ठानले यसवर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्राध्यापक कँडेललाई प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानको पुरस्कार छनोट समितिको बैठकले एक लाख नगद राशिको उक्त पुरस्कार प्राध्यापक कँडेललाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिए । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष न्यौपानेसहित विज्ञको तर्फबाट प्राडा लेखप्रसाद निरौला र राष्ट्रकविको परिवारका तर्फबाट प्राडा हेमाङ्गराज अधिकारी सदस्य थिए ।
धादिङ स्थायी घर भएका कँडेल संस्कृत, नेपाली र अङ्ग्रेजीका ज्ञाता हुनुका साथै छन्द साधना र कविता लेखनमा विशेष दख्खल राख्छन् । प्राध्यापक कँडेलको खण्डकाव्य ‘धृतराष्ट्र’ खण्डकाव्यले विसं २०७३ मा मदन पुरस्कार प्राप्त गरेको थियो । प्राध्यापक कँडेलले नेपाली शिक्षा परिषद्बाट भानुभक्त पुरस्कारसमेत प्राप्त गरिसकेका छन् ।
उक्त पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते प्रदान गरिनेछ । राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे र उहाँका परिवारबाट दिइएको रकममा प्रतिष्ठानबाट केही रकम थप गरी २७ लाखको अक्षयकोष बनाइएको छ ।
सोही अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमले उक्त पुरस्कार प्रदान गरिँदै आइएको प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए । उक्त पुरस्कारबाट यसअघि वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठी र वरिष्ठ गीतकार किरण खरेल सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया