काठमाडौं । नेपालमा कुल खेतीयोग्य जमिनमध्ये एक तिहाइमा मात्र बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ ।
अन्यत्रका किसान आकाशे पानीको भर पर्न बाध्य छन् । यस वर्ष मध्य असारसम्म समयमै पानी नपर्दा ९ प्रतिशत मात्रै रोपाइ भएको छ । जसको असर धान उत्पादनमा देखिएको छ ।
गत वर्षको असार दोस्रो सातासम्म देशभर २५ प्रतिशत रोपाइँ भइसकेको थियो । तर यस वर्ष समयमै पानी नपर्दा जम्मा ९ प्रतिशत मात्रै भएको छ ।
पहाड र भित्री मधेसका जिल्लामा धान रोपाइँ भए पनि अन्न भण्डारका रूपमा मानिने तराईका अधिकांश जिल्लामा किसानहरू अझै खेतमा पस्न पाएका छैनन् । त्यसमा पनि मधेस प्रदेशमा त ३ प्रतिशत मात्र रोपाई भएको छ ।
नेपालमा कूल खेतीयोग्य जमिन ३० लाख हेक्टर रहेकोमा झन्डै १५ लाख हेक्टरमा मात्र धान रोपाई हुन्छ ।
बाह्रै महिना सिँचाइ हुने जमिन १० लाख हेक्टर अर्थात् ३० प्रतिशत मात्रै छ । पर्याप्त सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीमा भर पर्दा मध्य असारमा समेत रोपाई हुन सकेको छैन ।
नेपालमा हरेक वर्ष ६० देखि ७० लाख धान माग हुने गरेकोमा ५६ लाख मेट्रिक टन उत्पादन हुन्छ । कृषि विभागका अनुसार उत्पादन प्रतिहेक्टर ३ मेट्रिक टनबाट बढाएर साढे ४ मेट्रिक टन पुर्याए माग धान्ने अवस्था रहन्छ ।
अहिले वार्षिक ३० अर्ब हाराहारीको धान-चामल आयात गर्नुपर्ने अवस्था छ । अर्कोतिर जलवायु परिवर्तनका कारण हुने खडेरी र अतिवृष्टिले पनि धान उत्पादन प्रभावित हुने गरेको छ ।
प्रतिक्रिया