नीरा सुब्बा/दार्जिलिङ
कहिलेकाहीँ यस्तै सोचहरू आउजाउ गर्दछ मानसपटलमा– हाम्रो यता भेकमा पनि भानु जस्तै गहकिला भानुहरू किन जन्मन सकेनन् ।
हुन त सम्पूर्ण नेपाली जगतले स्व. भानुभक्त आचार्यलाई सर्वोच्च सम्मानको दृष्टिले हेर्दछ । म पनि सम्मान गर्दछु, दार्जिलिङको चौरस्तामा सजिएको मौन भानुलाई देख्दा नतमस्तक हुन्छु, मौन वार्तालाप गर्दछु । हातमा खादा नभए पनि मनभित्र शब्दहरू गुथेर चडाउँदछु ।
भानुजयन्ती, गुलाबी असारे फूल, दौरा सुरुवाल, ढाकाको साडी, चौबन्दी, रामायण पाठ । यी कुराहरू सरररर रिल जस्तै दोहोरिन्छ हरेक भानुजयन्त्रीका दिन पाठशालाका सम्झनाहरू बोकेर ।
तर ती चौरस्तामा पैसा कमाउन, लगाम लगाएर खटाइएका सईस अनि घोडाको निम्ति भानुभक्तको सालिक मात्र मूर्ति हो कुनै प्रसिद्ध मान्छेको । जसलाई सफा गरेर टल्काएर राखिन्छ ।
श्रदेय भानुभक्तको घाँसीप्रतिको दृष्टिकोण सर्वोत्तम लाग्छ मलाई । कारण– उनले घाँसीलाई ओझेल राख्ने काम गरेनन् हेय सम्झेर । बरू घाँसीद्वारा इनार खनिदिने कुराले प्रेरित भएको कुरा कवितामा प्रष्ट पारे आदि कविले ।
यही कुराले उनको आफूभन्दा सानोबाट पनि शिक्षाको पाठ सिक्न सकिन्छ भन्ने उच्च मानसिकता दर्शिन्छ । साथै ज्ञानरूपी फलले लटरम्म वृक्ष सदैव झुकेको हुन्छ चाहे आफ्नु अघि कोही ठूलो होस् वा सानु व्यक्ति भन्ने उक्ति सही ठहर्दछ ।
सबैलाई भानु जयन्तीको मंगलमय शुभकामना ।
प्रतिक्रिया