काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका छन् ।
विश्व वातावरण कोषको क्यानाडाको भ्यानकुभरमा भएको ७औं एसेम्बली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको लागि पानीको श्रोत नेपाल रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराएका हुन् ।
उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा इमान्दार प्रयास गरिरहेको बताउँदै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातिहरुको संरक्षण गरेको र सोको नतिजास्वरुप बाघ तथा गैंडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको बताए ।
यी प्रयासका बाबजुद नेपाल जलवायू परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १०औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिवृष्टि, सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको उनले बताए ।
नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्रि सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्व अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको तर्फ सहभागीहरुको ध्यानाकर्षण गराए ।
अर्थमन्त्री डा. महतले जलवायू वित्तबाट सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिदैं यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका उपलब्ध सबै श्रोत अति प्रभावित मुलुकहरुमा केन्द्रित गर्न अनुरोध गरे ।
मन्त्री महत विश्व वातावरण सुविधाको ७ औं एस्म्वलीको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।
गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् । मन्त्री महतले उपाध्यक्षको हैंसियतमा प्लेनरी सेसनको अध्यक्षता गरेका थिए ।
सो अवसरमा विश्व वातावरण सुविधाका प्रमुख कार्यकारी अधिकृत कार्लोस इमान्युल रोड्रिगेजसँग भएको द्विपक्षीय बैठकको क्रममा कार्यकारी प्रमुख रोड्रिगेजले जैविक विविधता, वातावरण तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा नेपाल सरकारले गरेको प्रयास तथा सो क्षेत्रमा कूल लगानीको ७९ प्रतिशत आन्तरिक स्रोतबाट गरेकोमा सराहना गरेका थिए ।
प्रतिक्रिया