उत्कृष्ट विद्यार्थीलाई करिव दश लाख नगद छात्रबृत्ति वितरण

विहीबार, २५ असोज २०८०
इलाम, असोज : जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पुरस्कृत भानुभक्त माध्यमिक विद्यालयले विहिबार विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई करिव दश लाख नगद सहित छात्रबृत्ति प्रदान गरेको छ । विहिबार आयोजना भएको छात्रबृत्ति वितरण तथा विद्यार्थी एवम् शिक्षक सम्मान कार्यक्रममा छात्रबृत्ति प्रदान गरिएको हो । देउमाई नगरपालिकाबाट प्राविधिक धार तर्फका प्रत्येक कक्षाका उत्कृष्ट नौ जनालाई २५ हजारका दरले उपलव्ध नौ लाख रुपैयाँ छात्रबृत्ति सहित उपलव्ध गराइएको हो । प्रमुख अतिथि नगरका प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर दाहाल सहित विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनाल, विद्यालयका प्रधान अध्यापक बासुदेव कट्टेल, शिक्षा समन्वय इकाइका अधिृत अम्बिका खनाल समेतका व्यक्तित्वहरुले बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेका हुन् । यस्तै एसइइ परिक्षामा विद्यालयबाट जिल्ला प्रथम सहित अंक ल्याएका उत्कृष्ट विद्यार्थीहरु ३० जनालाई पुरस्कृत गरिएको छ । कक्षा ८ मा नगर प्रथम द्धितिय हुने छात्र छात्रा लगायत १४ जनालाई पुरस्कृत गरिएको थियो । यसैगरी कक्षा १२ मा जिल्लाकै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी सहित १३ जनालाई पुरस्कृत गरिएको थियो । कक्षा नर्सरी देखि कक्षा १२ सम्मका प्रथम द्धितीय र तृतीय विद्यार्थीलाई पुरस्कृत गरिएको थिया । उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । शिक्षकहरु प्रेमसागर नेपाल र टंक आचार्यले आफ्नो विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप व्यक्तिगत रुपमा नगद पुरस्कार प्रदान गरे । देउमाई वडा ८ का वडाध्यक्ष चन्द्र मगरले प्राविधिक धार तर्फ दुइ जना विद्यार्थीलाई चार वर्ष सम्म अध्यापन खर्च व्यहोरेका छन् । उनलाई पनि विद्यालयले सम्मान गरेको छ । कार्यक्रममा विद्यार्थीहरुले लोक दोहोरी, संगिनी नाच र साँस्कृतिक नृत्य प्रदर्शन गरेका थिए । प्रदेश सरकारबाट समेत उत्कृष्ट पुरस्कार पाउन सफल देउमाई नगरपालिका ४ को मंगलबारेमा रहेको भानुभक्त माध्यमिक विद्यालयमा स्मार्ट कक्षा सहित प्राविधिक धार तर्फ सिभिल इञ्जिनियरिङ कक्षा संचालित छ । नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने विद्यालयमा प्रअको कोठाबाट सवै कोठामा निगरानी अडियो भिडियो सहितको कक्षा व्यवस्थापन गरिएको छ । खेलकुदका लागि एकै पटकमा ६० जना विद्यार्थीहरु खेलको माध्यमबाट सिकाइ अभ्यास गर्न खेलघरको निर्माण गरिएको छ । प्राथमिक तहको कक्षा नर्सरीबाट कक्षा ५ सम्म कक्षा शिक्षकको व्यवस्थापन गरिएको छ । यस्तै इजोन र इलाइब्रेरी व्यवस्थापन गरिएको छ । उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा संचालन गर्न विद्यालय शिक्षक तथा कर्मचारीहरुबाट विहान बेलुकाको समयमा समेत निशुल्क अध्ययन अध्यापनका कार्यमा उच्च सहयोग पुर्याएको बिद्यालयको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार